धरान : सल्लेरी बचत तथा ऋण सहकारी संस्था र शिखर सगरमाथा सुनचाँदी इष्ड्रष्ट्रिज प्रालिबाट ठगिएका एवं पीडित बचतकर्ता सर्वसाधारणले आफुहरुको पैसा सुरक्षित साथ फिर्ता गराइदिन सरोकारवाला निकायहरुलाई आह्वान गरेका छन् ।

पीडितहरुले सहकारीमा बचत गरेको रकम फिर्ताको लागि पहल गर्न संघर्ष समिति समेत गठन गरेका छन् । समितिले सोमबार पत्रकार महासंघ सुनसरीको धरानस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दे सर्वसाधारणहरुको कुल ८ करोड २३ लाख रुपैया ठगिमा परेको भन्दै उक्त रकम फिर्ता गराउन सम्बन्धित सरोकारवाला निकायहरुसँग अपिल गरेको हो । सल्लेरी सहकारीका अध्यक्ष तथा शिखर समगरमाथाका सञ्चालक कृष्णबहादुर विश्वकर्माले ग्राण्ड डिजाइन गरेर नै आफुहरुको रकम ठगी गरेको समितिले जनाएको छ । यो ठगी काण्डमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सांसद मिन विश्वकर्माको पनि मिलेमतो भएको तर कतैबाट पनि निष्पक्ष छानबिन गरेर कारबाहीको दायरामा नल्याएको पीडितहरुले बताए ।

प्रहरीले सल्लेरीका अध्यक्ष बिक, उनका छोरा तथा प्रबन्धक मोहन दर्नालसहित सञ्चालक समितिलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरिसकेको छ । अदालतले अध्यक्षलाई पुर्पक्षमा थुनामा पठाएको छ भने अन्यलाई २ लाख धरौटी मागेको थियो । संघर्ष समितिका अध्यक्ष तुलसी प्रसाद विश्वकर्माले सबै निकायको ढोका ढकढकाए पनि न्याय पाउन नसकिएको बताए । ‘हामी ज्यादै पीडित भयौं, ग्राण्ड डिजाइन गरेर जनतालाई फसाइएको छ, अहिले हामी घर न घाटको अवस्थामा छौं,’उनले भने,‘सुनचाँदी पसलमा पैसा राख्न नपाउने भएपछि सहकारी किनेर हामी जनताको पैसा डुबाए ।’

salleri

संघर्ष समिति अध्यक्ष विकका अनुसार असार २३ गते सल्लेरी अध्यक्ष कृष्ण विक वेपत्ता भएको नाटक रचिएको थियो । त्यसबीचमा माइला छोरा छुट्टिए भने २७ गते श्रीमतिको नामको जग्गा वडा समितिबाट बेचबिखनको लागि सिफारिश लगिएको थियो । उक्त जग्गा असार २९ गते कांग्रेस नेता एवं सांसद मीन बहादुर विश्वकर्माको श्रीमतिको नाममा नामसारी भएको थियो । ‘यत्रो जनतको पैसा घोटला भएको जानकारी पाएर पनि उनीहरुको सम्पत्ति रोक्का गरिएन, वडा १५ ले सिफारिश गरेर सम्पत्ति नामसारी भयो,’संघर्ष समिति अध्यक्ष बिकले भने,‘मीन बिकको श्रीमतिको नाममा जग्गा गएको छ, उनीहरुको थुप्रै ठाउँमा पार्टनरसीपमा लगानी रहेछ, जनताको यत्रो पैसा डुब्दा कसैले चासो दिएनन् ।’

स्थानीय सरकारले पनि जनताको पैसा डुबेको बिषयमा जति गम्भीर हुनुपर्ने हो, त्यो नभएको उनले गुनासो गरे । 'कार्यवाहक मेयर मञ्जु भण्डारीलाई पटक पटक भेट्न खोज्यौं, उहाँले यो केस अदालतमा छ, म केही गर्न सक्दिन भन्दै भेटेर कुरा पनि गर्नुभएन,'उनले भने ।

अर्का पीडित नरेश शाही ठकुरीले गरिब जनताले दुःख, मेहनत गरेर कमाएको पैसा बचत गरेको हुनाले जसरी पनि फिर्ता गराउन सबैले पहल गरिदिन आग्रह गरे । बिशेष गरि सहकारीका कलेक्टर(वचत संकलक)हरुलाई अहिले घरमा बस्नसक्ने अवस्था नभएको पनि उनले बताए । ‘वचतकर्ता ग्राहकहरु दिनहुँ कलेक्टरको घरमा आउछन्, पैसा लेउ भन्छन्, एकदमै गाह्रो भएको छ,’ठकुरीले भने,‘सञ्चालक समितिको दायित्व के हो ? उनीहरुको सम्पत्ति रोक्का गरेर भएपनि असुल उपर गरिदिनुपर्छ ।’

संघर्ष समितिका अनुसार सल्लेरीमा कुल ८ करोड २३ लाख रुपैया सर्वसाधारणहरुको पैसा फसेको छ । त्यसमध्ये २ करोड ७ लाख कलेक्टरहरुले संकलन गरेको बचत रकम हो । त्यसबाहेक अन्य रकम ब्याजको लागि विभिन्न व्यक्तिले फिक्स डिपोजिट गरिएको पैसा हो । व्यक्तिले ब्याजको लागि ९० लाख हाराहारीमा पनि रकम बचत गरेको देखिएको संघर्ष समितिले जनाएको छ ।

salleri1