धरान: १ नम्बर प्रदेशस्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगितामा सोमबार अन्तिम क्वार्टर फाइनल खेलमा मोरङको एम्ब्रीय क्लब एकेडेमीले झापाको मेची नेत्रालयलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेसँगै समीकरण पुरा भएको हो । खेलमा एम्ब्रीयले मेची नेत्रालयलाई ३–२ गोलअन्तरले पराजित गर्यो । एम्ब्रीयको जितमा कमलबहादुर थापाले २ गोल र तिलक ओझाले एक गोल गरेका थिए ।

Anfa-cup 2

यसअघि, विराटनगर फुटबल एकेडेमी, एन्फा एकेडेमी धरान र महेन्द्र फुटबल एकेडेमी पनि सेमीफाइनल प्रवेश गरिसकेको थियो । सेमीफाइनलमा एम्ब्रीय क्लब एकेडेमी र महेन्द्र फुटबल एकेडेमी दुहबीबीच भेट हुनेछ भने एन्फा एकेडेमी धरान र विराटनगर फुटबल एकेडेमीबीचमा पनि सेमीफाइनल भिडन्त हुनेछ । प्रतियोगिता धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भइरहेको छ ।

मंगलबार पहिलो सेमीफाइनल खेल एम्ब्रीय र महेन्द्र एकेडेमीबीच हुनेछ भने बुधबार एन्फा एकेडेमी र विराटनगर एकेडेमीबीच दोस्रो सेमीफाइनल खेल हुनेछ । प्रतियोगितामा १० वटा फुटबल एकेडेमी टिमले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद पुरस्कार जित्नेछन् ।