इटहरी: नेकपा इटहरीका असन्तुष्ट पक्षले आज पार्टीको प्रदेश १ कमिटिको कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेकपा इटहरीमा रोलक्रम मिचेर सचिव नियुक्त गरेको र आँफूहरुले पार्टीका शीर्ष नेताहरुलाई पटक–पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको भन्दै कार्यकर्ताहरुले प्रदेश कार्यालयमा तालाबन्दी गरेका हुन् ।तत्कालिन नेकपा एमाले वडा नं. ४ का उप–सचिव सुनिल कार्कीका अनुसार यसअघि गत भदौ १२ गते इटहरी नेकपाको कार्यालयमा तालाबन्दी गरिएको थियो । 'हामीले १९ दिनयताबाट आन्दोलन गरेको भएपनि पार्टीले वेवास्ता गर्दै आएकाले थप आन्दोलन गर्न बाध्य भएका हौँ,'उनले भने,'पार्टीको रोलक्रम र पद्धति, मापदण्ड मिचेर नियुक्त गरिएको सचिव हामीलाई मान्य हुने छैन ।'

उनका अनुसार पञ्चायत कालमा जस्तो रातारात पार्टीमा नगर कमिटि गठन गरेको बताए । आफूहरुले प्रदेश कार्यालयमा समेत यसअघि ध्यानाकर्षण गराएको भएपनि बेवास्ता गरेको र आफूहरुको आन्दोलन थप शशक्त बनाउँदै जाने तत्कालिन एमाले इटहरी ५ का अध्यक्ष वीरेन्द्र गौतमले बताए । 'दुई चार जनाले आन्दोलन गर्दैमा केही हुँदैन भन्ने उहाँहरुले मान्यता राख्नुभयो,'उनले भने,'हामी हजारौँको संख्यामा पनि आन्दोलनमा उत्रन बाध्य हुने छौँ ।' 

उनका अनुसार पार्टीलाई मर्यादित र मजबुत बनाउँन आँफूहरु लागि परेको भएपनि पार्टीका केही शीर्ष नेताहरुले गोजीको मान्छे नियुक्त गरेको बताए । मंगलबार १२ बजे नेकपा प्रदेश १ का अध्यक्ष, नेता शिब डाँगी, इटहरी नगर कमिटि अध्यक्ष बहादुर सिंह तामाङ ज्वाला, इटहरीका मेयर द्धारिकलाल चौधरी लगायत उपस्थित भएको भएपनि उनीहरुलाई पार्टी कार्यालयबाट निकालेर सयौँको संख्यामा रहेका आक्रोशित युवाहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।