धरान(डेस्क) : तेह्रथुमको लालीगुराँस नगरपालिका ५, दाँगपास्थित सिंथापा वरडाँडामा खेल मैदान निर्माणको क्रममा जेसिविले तिलिङ लिम्बु जातीहरुको चिहान भत्किएको बिषयमा नगर प्रमुख अर्जुन माबोहाङले माफी मागेका छन् ।

जेसिविले खेल मैदान सम्याउने क्रममा चिहान भत्किए पछि नगरपालिकाको चर्को आलोचना भएको थियो । आलोचना भएपछि नगर प्रमुख माबोहाङले आज प्रेस विज्ञप्ती जारी गर्दै अञ्जानवस चिहान क्षेत्रमा क्षति पुगेर सम्बन्धित समुदायको भावनामा चोट पुग्न गएकोप्रति क्षमाप्रार्थी भएको जनाएका छन् । साथै, उनले चिहान क्षेत्रको प्रभावकारी संरक्षणको लागि सम्बन्धित समुदायसँग छलफल गर्न असोज ३ गते ५ नम्बर वडा कार्यालयमा भेलासमेत राखेको जानकारी दिएका छन् । भेलामा उनले किरात याक्थुङ चुम्लुङका जिल्ला तथा नगरका पदाधिकारी, आदिबासी जनजाती महासंघ जिल्ला तथा नगर पदाधिकारी, सम्पुर्ण तिलिङ(मादेन र चोङबाङ), केबुकहाङ, माबुहाङ लिम्बु समुदायलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

limbu-chihan1

नगरप्रमुख माबोहाङका अनुसार खेल मैदान निर्माण गर्न स्थानीय समुदायबाट नै माग भएको थियो । स्थानीयको माग अनुसार नगर प्रमुख र सम्बन्धित वडा अध्यक्षसमेतको उपस्थितिमा भदौ २ गते स्थानीयस्तरमा बैठक बसेर वरडाँडामा नै खेल मैदान निर्माण गर्न उपयुक्त भएको ठहर सर्वसहमतिमा भएको थियो । सोही सहमति अनुसार नगरपालिकाले आफ्नो ब्याक हो लोडर प्रयोग गरी सम्याउने क्रममा तिलिङ लिम्बु जातीहरुको चिहान खनिन पुगेर निज समुदायको भावनामा ठेस पुग्न गएकोप्रति ध्यानाकर्षण भएको पनि मेयर माबोहाङले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

'स्थानीय माग बमोजिमको विकास निर्माण कार्य गर्नु नगरपालिकाको कर्तव्य भएको र स्थानीय वन ऐनअनुसार सामुदायिक वनको नियमन गर्ने अधिकार नगरपालिकाको समेत भएको तथा स्थानीय आम उपभोक्ताहरुको सहमतिमा नै सो क्षेत्रमा निर्माण कार्य भएको अवस्था भएता पनि अञ्जानवस चिहान क्षेत्रमा क्षति पुगि सम्बन्धित समुदायको भावनामा चोट पुग्न गएकोप्रति नगरपालिका क्षमाप्रार्थी छ,'विज्ञप्तीमा भनिएको छ ।

chihan