धरान: धरान ४ स्थित निशाने खोलामा आएको बाढीले कटान गरेपछि पहिरो गएर एउटा होटल बगेर पुर्णरुपमा क्षति पुगेको छ भने कोशी राजमार्गको धरान भेडेटार सडकखण्ड र अन्य केही घरहरु पनि उच्च जोखिममा परेको छ ।

हिजो मंगलबार राती निशाने खोलाको कटानले पहिरो गएपछि भक्तबहादुर राईको होटल ए वान बगाएर पुर्णरुपमा क्षति पुगेको छ । उनको होटल भएको ३ कट्ठा जमिन नै पहिरोमा बगेको छ भने ६ वटा कटेज पनि बगेर क्षति पुगेको छ । होटलसँगै भएको घर पनि आधा बगिसकेको छ भने घर क्षतिग्रस्त छ ।
पीडित राईका अनुसार भौतिक संरचना मात्र २५ लाख बढीको क्षति पुगेको छ भने ३ कट्ठा जमिन पनि सबै बगेको कारण करोड बढी क्षति भएको छ । ‘क्षतिको त के कुरा गर्नु ? जग्गा नै सबै बग्यो, होटल पनि रहेन,’उनले भने,‘राती आधा जति मात्र सामान निकाल्न पायौं ।’ पहिरो जाने क्रम अभैm पनि रोकिएको छैन ।

nisane-pahiro2

पहिरोले नजिकैको देविका राईको अर्को होटल पनि जोखिममा छ भने उत्तरमाया राई, सन्तोष राई र अर्जुन राईको घर पनि पहिरोको उच्च जोखिममा छ । पहिरोको जोखिममा रहेको सर्वसाधारणहरुलाई अन्यत्र सारेर राख्ने व्यवस्था गर्न स्थानीय राजन राईले माग गरे ।

केही बर्षअघि पनि निशानेमा पहिरो जादा कोशी राजमार्ग नै बगाएर यातायात अवरुद्ध भएको थियो । उक्त सडक मर्मत गर्ने क्रममा एक साइडमा मात्र चेकड्याम बनाएर सडक निर्माण गरिएकाले अर्को साइडमा खोलाले कटान गरेर पहिरो गएको स्थानीय होटल व्यवसायी गोपाल राईले बताए । ‘सडक मर्मत गर्दा निशानेको एकपटि मात्र सुरक्षित गरियो, अर्कोपटि ध्यान नदिदा कटान भएर यो पहिरो गएको हो,’उनले भने,‘सर्दु खर्दु र निशाने खोलाको संगमस्थलदेखि नै चेकड्याम नगर्ने हो भने यो पहिरो अझै झर्दै गएर खोला नै थुनिन सक्छ ।’

nishane-pahiro3 nishane-pahiro4