धरान: १ नम्बर प्रदेश सरकारको म अघि बढ्छुँ कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको तीन नगरपालिकाको विद्यालयका शिक्षक नायकहरुलाई अभिमुखीकरण गरिएको छ ।

सुनसरीको धरान उपमहानगर, इटहरी उपमहानगर र बराहक्षेत्र नगरका विद्यालयहरुमा सञ्चालन हुने सगरमाथा टिन्स क्लब सञ्चालनको लागि शिक्षक नायकहरुलाई बुधबार धरानमा अभिमुखीकरण गरिएको हो । धरानस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा आयोजित कार्यक्रममा तीन नगर क्षेत्रका विभिन्न १ सय ६ विद्यालयका शिक्षक नायकहरु सहभागी भएका थिए ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि एवं प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकारको म अघि बढ्छु कार्यक्रम समाजको आवश्यक्ताको उपज भएको धारणा व्यक्त गरे । प्रदेशको सामाजिक र साँस्कृतिक पक्षलाई सवल बनाउन यो कार्यक्रम महत्वपुर्ण हुने पनि सभामुख भण्डारीको भनाई थियो । यस्तै, धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयार मञ्जु भण्डारी सुवेदीले पनि धरान जस्तो लागुऔषधबाट आक्रान्त भएको नगरकोलागि यो कार्यक्रम अत्यन्तै आवश्यक भएको बताइन् ।

अभिमुखीकरण कार्यक्रममा लागुऔषध प्रयोग हुनबाट किसोरकिसोरीहरुलाई बचाउने उपायबारे प्रदेश प्रहरी प्रमुख एवं डिआइजी ठाकुरप्रसाद ज्ञवालीले सहजीकरण गरेका थिए । यस्तै, विपद व्यवस्थापनमा किसोरकिसोरीले खेल्नुपर्ने स्वयमसेवकको भुमिकाबारे १ नम्बर बराह बाहिनी पकलीका सशस्त्र प्रहरी निरीक्षक सुर्य धमलाले सहजीकरण गरेका थिए भने म अघि बढ्छु कार्यक्रमको अवधारणा र सगरमाथा टिन्स क्लव सञ्चालनको कार्यविधि २०७५ को बारेमा सुनसरीका मुख्य प्रशिक्षक अर्जुन बिष्टले प्रष्ट्याएका थिए ।

म अघि बढ्छु कार्यक्रमका जिल्लास्तरीय अनुगमन समितिका संयोजक तथा सुनसरी प्रजिअ राजेश पौडेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका रवि खनाल, विजय राईलगायत अतिथिकारुपमा रहेका थिए ।

बार्षिक कार्ययोजना तयार

ma-aghi-badxu 1

म अघि बढ्छु कार्यक्रमअन्र्तगत सुनसरीको ३ नगरको विद्यालयमा सञ्चालन हुने सगरमाथा टिन्स क्लबको लागि बार्षिक कार्ययोजना तयार भएको छ । शिक्षक नायकहरुको अभिमुखीकरण कार्यक्रमसँगै बुधबार बार्षिक कार्ययोजना पनि तयार गरेको हो । क्लवको वार्षिक कार्यक्रम तयारीबारे सहजकर्ता त्रिभुवन विश्वविधालयका उपप्राध्यापक गोपी खतिवडाले सहजिकरण गरेका थिए ।

तीनै नगरका शिक्षक नायकहरुलाई अभिमुखरीकरण कार्यक्रमसँगै बार्षिक कार्ययोजना पनि तयार गरिएको म अघि बढ्छु कार्यक्रमका संयोजक नवराज राईले जानकारी दिए । उनका अनुसार सुनसरीका ३ नगर क्षेत्रको लागि मात्र यो कार्ययोजना बनेको हो । ‘यो कार्ययोजना अनुसार इटहरी, धरान र बराहक्षेत्रका विद्यालयहरुमा सगरमाथा टिन्स क्लबहरुले आफ्नो बार्षिक कार्यक्रम, गतिविधि तथा क्रियाकलापहरु सञ्चालन गर्नेछन्,’संयोजक राईले भने,‘जिल्ला बाँकी गाउँपालिका, नगरपालिकाहरुमा पनि चाडै अभिमुखीकरण कार्यक्रम राखेर यसरी नै कार्ययोजना तयार गछौं ।’