धरान: सल्लेरी ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले सर्वसाधारणहरुले बचत गरेको पैसा झिकेर अन्तै लगानी गरेर करोडौं हिनामिना गरेको खुलेपछि अहिले सहकारीको पैसा संकलन गर्ने कर्मचारी(कलेक्टर)हरु मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।

उक्त सहकारीमा १६ जना कलेक्टरहरु थिए । ती मध्ये अधिकांश महिला छन् । सहकारीको पैसा घोटाला भएको खबर फैलिएपछि अहिले पैसा फिर्ता माग्दै कलेक्टरहरुको घरमा पुग्ने बचतकर्ताहरुको ताती छ । कलेक्टरहरु हिजोआज मर्नु न बाँच्नुको पीडामा छन् । ‘म १४५ जनाको पैसा उठाउथे, सबैको हिसाब गर्दा ३५ लाख जति पुग्छ,’कलेक्टर कमला बिकले भनिन्,‘हिजो आज दिनहुँ बचतकर्ताहरु घरमै आउछन्, तैले तिर्नुपर्छ भन्दै घेरा हाल्छन् । मैले त्यत्रो पैसा कसरी तिर्नसक्छु ?’

अर्का कलेक्टर जुना बिकले पनि बचतकर्ताहरुको दिनहुँको ताकेताले गर्दा आफु घरमा नै बस्ने अवस्था नभएको पीडा पोखिन् । उनले बचतकर्ताहरुले पैसा फिर्ता गर्न वा ऋण लिएको कागज गर्न भन्दै दबाब दिइरहेको बताइन् । ‘अफिस जान्दैनौं, तिमीले नै कि पैसा फिर्ता गर कि कागज बनाइदेऊ भनेर दबाब दिइरहेको छ,’उनले भनिन्,‘म त बुहारी मान्छे, घरमा बस्ने अवस्था नै छैन । मर्नबाहेक अरु के उपाय हुन्छ ?’

कलेक्टरहरुका अनुसार सहकारीको कुल ८ करोड २३ लाख डुबेको हिसाब छ । त्यसमध्ये २ करोड ७ लाख मात्र कलेक्टरहरुको मार्फतबाट पैसा जम्मा भएको हो । गएको असार अन्तिम साता अध्यक्ष विश्वकर्मा एकाएक हराएसँगै संस्थामा करोडौं घोटाला भएको खुल्यो । त्यसपछि, बचतकर्ता सर्वसाधारणहरुको लगानी पनि जोखिममा छ ।

जिउनी खेतको पैसा डुब्यो

pic-1,-salleri-80-years

कलेक्टरहरुको पीडा जति छ, त्यो भन्दा बढी थोरै थोरै पैसा बचत गर्ने सर्वसाधारणहरुको छ । करिब ३ हजार बचतकर्ताहरुको रकम फिर्ता हुन्छ कि हुदैन भन्ने अन्योल छ । आफ्नो पैसा डुब्ने चिन्ताले बचतकर्ताहरु पनि पीडामा छन् ।

तिनै बचतकर्तामध्ये एक हुन्, हाल छोरासँग धरान १५ मा बस्दै आएका ८० बर्षीय कृष्ण बिक । उनले मोरङको डाँगीमा भएको जिउनी खेत ९ कट्ठा बिक्री गरेका थिए । त्यसवापत आएको पैसामध्ये घरव्यवहार टारेर २१ लाख बाँकी थियो । उनले त्यो रकम बढी ब्याज आउने आशामा धरानको सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा राखेका थिए । अहिले उनले न ब्याज पाएका छन्, न उनले सहकारीमा राखेको पैसाकै ठेगान छ । ल्यो । त्यसयता उनलाई न रातमा राम्रोसँग निन्द्र छ, न भोक तिर्खा नै ।

बुढेसकालमा सहकारीमा बचत गरेको पैसाले राम्रो होला भन्ने सोचेका वृद्ध बिक अहिले कसरी आफ्नै पैसा फिर्ता पाउने भन्ने चिन्तामा छन् । ‘जिउनी खेत बेचेर २१ लाख बचेको थियो, ब्याजले खान पुग्छ भनेर राखेको थिए । त्यही पैसा नै जोखिममा पर्यो,’उनले भने,‘काम गर्न नि सक्दिन, न खानु न लाउनु पो भयो । हाम्रो पैसा तुरुन्त फिर्ता पाऊँ ।’८० बर्षीय वृद्ध बिकले नै मेहनत गरेर कमाएको पैसा सल्लेरी सहकारीमा बचत गर्नेहरुको यतिबेला विचल्ली अवस्थामा छ ।