धरान: प्रदेशस्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा मोरङको एम्ब्रीय क्लब एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा बिहिबार भएको पहिलो सेमीफाइनल खेलमा एम्ब्रीय क्लब एकेडेमीले दुहबीको महेन्द्र मेमोरियल फुटबल एकेडेमीलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा एम्ब्रीयले ४–२ गोल अन्तरले जित दर्ता गर्यो ।

टाइब्रेकरमा एम्ब्रीयका तिलक ओझा, जेनिल याक्खा, मौसम लिम्बू र मिलन तामाङले गोल गरे भने महेन्द्र मेमोरियलका अनुज हलवाई र अनिल राउले मात्र गोल गर्न सफल भए । महेन्द्र मेमोरियलका मोहम्मत उरव र नितेश चौधरीले गोल चुके ।

निर्धारित समयको खेलमा एम्ब्रीयका कमल थापा मगरले गोल गर्दै अग्रता दिलाए पनि महेन्द्र मेमोरियलका डेबिट मगरले गोल फर्काउदै खेल बराबरी बनाए । खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका डेबिट मगर घोषित हुँदै नगद एकहजार प्राप्त गरे । प्रतियोगितामा शुक्रबार एन्फा एकेडेमी धरान र विराटनगर फुटबल एकेडेमीबीच दोस्रो सेमीफाइनल खेल हुनेछ । उक्त खेलको विजेतासँग फाइनलमा एम्ब्रीय क्लब एकेडेमीले उपाधिको लागि भिडन्त गर्नुपर्नेछ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल मंगलबार र बुधबार नै हुनुपर्ने भएपनि वर्षाले प्रभावित भएको थियो । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कारहात पार्नेछ ।