संखुवासभा : तालिम प्राप्त गोताखोर टोलीले खोजी गर्दा पनि संखुवासभाको अक्करको भिरबाट खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको पत्ता लाग्न सकेन ।

सशस्त्र प्रहरी बलको विपद् उद्दार गणका ४ जना दक्ष प्राविधिक टोलीले बिहीबार दिनभर खोजी गरे पनि बेपत्ता भएको जीप र जीपमा रहेका भनिएका ६ जनाको पत्ता लाग्न नसकेको हो ।

अरुण नदीमा पानी सतह अझै नघटेको र धमिलो भएको हुँदा जीप नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनले आज शुक्रबार बिहान ८ बजेदेखि फेरि खोजी सुरु गरिने जानकारी दिए । घटनास्थलमा बिहीबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र राजनैतिक दललगायत स्थानीयहरुको ठूलो भीड लागेको थियो ।