धरान: संविधान दिवस आज धरानमा पनि धुमधामले मनाइएको छ । २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको थियो ।

उक्त दिनलाई संविधान दिवसकोरुपमा राष्ट्रव्यापी मनाइन्छ । सोही क्रममा आज बिहान धरानमा प्रभातरी आयोजना भयो । धरान उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघसंस्था, सरकारी निकाय, विद्यालय, खेलाडी, नेपाल प्रहरी, नेपाली सेनासमेतको सहभागितामा प्रभातरी आयोजना भएको थियो । उपमहानगर परिसरबाट शुरु भएको प्रभात फेरि भानुचोकमा पुगेर टुंगिएको थियो ।

संविधान दिवसकै अवसरमा भानुचोकमा राष्ट्रिय झण्डा फहराइएको छ । प्रदेश सरकारले १ नं प्रदेशको प्रमुख सहरको चोकमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेअनुसार धरानको भानुचोकमा पनि राष्ट्रिय झण्डा फहराइएको हो । कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भानुभक्तको सालिकसँगै राखिएको झण्डाको झण्डोत्तलन गरेकी थिइन् ।

sambidhan-diwas5

भानुचोकमा संक्षिप्त सम्बोधन गर्दै कार्यवाहक मेयर भण्डारीले जनताले चाहेको संविधान जारी भएको धारणा राख्दै सबैले कार्यान्वयन गर्नुपर्ने बताइन् । ‘जनताको संविधान हो, सबैले अपनत्व ग्रहण गर्दै कार्यान्वयन गर्नुपर्छ,’उनले भनिन् ।

उपमहानगरले संविधान दिवसकै अवसरमा आज स्थानीय तह र संविधान शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कार्यवाहक मेयर भण्डारीले बताइन् । नयाँ पुस्तालाई पनि अपनत्व ग्रहण गराउन र संविधानबारे जानकार बनाउन विद्यार्थीहरुबीचमा वक्तृत्वकला आयोजना गरिएको बताइन् । यस्तै, उनले घरघरमा राष्ट्रिय झण्डा राख्न र दिपावली गर्न पनि आग्रह गरिन् ।

sambidhan8 sambidhan12 sambidhan-1 sambidhan-diwas1 sambiidhan-diwas22