धरानः नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवस धुमधामले देशभर मनाइरहदा आज बिहान धरानमा पनि प्रभातफेरी गरेर मनाइयो । यही धरानमा आज दिउँसो भने संविधानको विरोधमा पनि र्याली निस्कियो ।

संविधान जारी भएको दिनलाई कालो दिन भन्दै लिम्बूवान, खम्बुवानजन्य विभिन्न राजनीतिक दल, समुदायहरुले धरानमा विरोध र्याली निकालेको हो । धरानमा प्रहरीको कडा सुरक्षाबीचमा ती दलहरुले संविधानको विरोधमा धरानमा र्याली निकालेको थियो । धरान १० स्थित लिम्बूवानको पार्टी कार्यालयबाट निस्केको र्याली चतरालाइन, छाताचोक, भानुचोक हुदै पुनः पार्टी कार्यालयतर्फ गएको थियो ।

sambidhan4

भानुचोकमा बिहान राष्ट्रिय झण्डा राखिएको स्थानमा उनीहरुले विरोधस्वरुप कालोझण्डा पनि राखेका थिए । तर, कालो झण्डा एकैछिनमा प्रहरीले निकालेको थियो । २०७२ को संविधानलाई उत्कृष्ट भनिदै आएपनि खासगरी यो संविधानले मधेशी, आदिबासी जनजाति, उत्पीडित समुदायको आवाजलाई समेट्न नसकेको भन्दै ती समुदायहरु सन्तुष्ट छैनन् । संविधान जारी भएकै बेला ती समुदाय तथा पहिचानको राजनीति गर्ने पार्टीहरुले संविधान जलाएका थिए । हरेक बर्ष संविधान दिवसलाई कालो दिनकोरुपमा मनाउने समाजवादी पार्टी भने संघीय सरकारमा सहभागी छ । यसबर्ष उसले न विरोध गर्यो, न संविधान दिवस नै मनायो । यस्तै संविधानको चर्को विरोध गर्ने अर्को मधेशवादी दल राष्ट्रिय जनता पार्टी(राजप)ले पनि २ नं प्रदेशमा सरकार बनाएको छ । यो पार्टीका मन्त्रीहरुले भने हिजो नै कालो झण्डा प्रर्दशन गरेका थियो ।  

sambidhann0

sambidhan1