धरान: प्रदेशस्तरीय प्रथम यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधिको लागि मोरङको एम्ब्रीय एकेडेमी र धरानको एन्फा एकेडेमीबीच भिडन्त हुने भएको छ ।

धरान १७ स्थित एन्फा एकेडेमी मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर फुटबल एकेडेमीलाई १–० को झिनो गोलअन्तरले हराउदै एन्फा एकेडेमी धरानले फाइनलमा एम्ब्रीयसँग भेट पक्का गरेको हो । यसअघि बिहिहार एम्ब्रीयले दुहबीको महेन्द्र मेमोरियल एकेडमीलाई हराउदै फाइनल यात्रा तय गरिसकेको थियो । फाइनल खेल शनिबार बिहान ८ बजे हुने आयोजकले जनाएको छ ।

शुक्रबारको खेलमा धरानको लागि सोहन सिन्तानले एक मात्र निर्णायक गोल गरे । खेलको म्यानअफ दि म्याच विराटनगरकय अनिष खड्का घोषित भए । उनले नगद १ हजार पुरस्कार पाए । शनिबार बिहान हुने फाइनलको विजेताले नगद ५० हजारसहित उपाधि ट्रफी हात पार्नेछ भने उपविजेताले २५ हजार पाउनेछ ।
पहिलो पटक आयोजना भएको एकेडेमीस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । एन्फा एकेडेमी सञ्चालन समितिले प्रतियोगिता आयोजना गरेको हो । एन्फाले विभिन्न जिल्लामा ग्रासरुट कार्यक्रममा सहयोग गरिरहेको छ ।