धरान: नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा प्रदेश नम्बर १ को पर्यटनको अन्र्तराष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने उद्देश्यले आजदेखि ३ दिने इष्ट टुरिज्म मार्ट २०१९ धरानमा हुदैछ ।

केही बेरमा धरान ७ स्थित सिद्धि नेवाः परिषदमा मार्टको उद्घाटन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नेछन् । धरानमा मार्ट दोस्रो पटक हुन लागेको हो । आज शुरु हुने मार्ट सोमबार समापन हुनेछ । मार्टमा प्रदेश नम्बर १ का १४ वटा जिल्लाका पर्यटन व्यवसायीहरुको सहभागीता रहने आयोजक समितिका अध्यक्ष भविश श्रेष्ठले जानकारी दिए । मार्टमा १४ जिल्लाको ६० व्यवसायिक स्टलहरु रहने उनले बताए ।

यसैगरि, अन्य प्रदेशबाट पनि पर्यटन व्यवसायीहरुको करिब ३० वटा व्यवसायीक स्टलहरु रहने आयोजक समितिले जानकारी दिएको छ । मार्टमा नेपालका पर्यटन व्यवसायीहरुले आफ्नो पर्यटकीय गन्तव्य तथा टुर प्याकेज बिक्रीमा राख्ने हो भने विदेशबाट आएका पर्यटन व्यवसायीहरुले ती टुर प्याकेज खरीद गर्ने हुन् ।
आयोजकका अनुसार मार्टमा भारतको नयाँदिल्ली, पटना, कोलकत्ता, सिलिगुडी, आसाम, दार्जिलिङ, सिक्कीम तथा जयगाँउबाट पर्यटन व्यवसायीहरु सहभागी हुनेछन् । यस्तै, तेस्रो मुलुक भुटान र बङगलादेशबाट पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहने मार्ट आयोजक समितिको भनाई छ । ‘मार्टमा कुल १ सय २० जना विदेशी पर्यटन व्यावसायीहरुको सहभागिता रहनेछ,’अध्यक्ष श्रेष्ठले भने ।

उद्घाटन समारोहकोबीच नै सिक्किमका पर्यटन व्यवसायी र पूर्वी नेपालका पर्यटन व्यवसायी बीचमा व्यवसायीक पर्यटन साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ । धरानमा विभिन्न जातजातीहरुको संस्कृती झल्कने सांस्कृतिक कार्यक्रमसँगै वेलकम डिनरको कार्यक्रम रहनेछ भने मार्टको दोस्रो दिन विहान धरान आसपासका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण कार्यक्रम रहेको छ । यस्तै, दोस्रो दिनमा नै नेपालका पर्यटन व्यवसायीसँग विदेशी पर्यटन व्यबसायीहरुले विजनेस टु विजनेस (वि टु वी ) मिटिङमा सहभागीता जनाउनेछन् ।

विदेशी पर्यटन व्यवसायीहरुले इटहरी र विराटनगरका पर्यटन व्यवसाय प्रोप्रर्टी भिजिट गर्नेछन् भने विराटनगरका पर्यटन व्यवसायीहरुले स्वागत गर्नेछन् । तेस्रो दिन बिहान विराटनगरबाट कोशीटप्पुको भ्रमण पश्चात धरानमा समापन कार्यक्रम हुनेछ । मार्ट अवधिभर धरानमा हुने साहसिक खेलहरु प्याराग्लाइडीङ,¥याफ्टीङ, साईक्लिङ साहसिक जस्ता अन्य खेलहरु इच्छुकहरुको लागि सञ्चालन हुने आयोजकको भनाई छ ।

समापन पश्चात पनि विदेशी पाहुनाहरुलाई ‘फेमट्रिप’को लागि पर्यटकहरुको इच्छा अनुसार बराहक्षेत्र, बिष्णुपादुका, हलेसी,हिले,टिएमजे क्षेत्र,ईलाम र सप्तरीको सखडा भगवतीको मन्दिरलगायत क्षेत्रमा लगिने पनि आयोजकको भनाई छ । इष्ट टुरिज्म मार्ट नेपाल पर्यटन बोर्डको आयोजना,धरान उपमहानगरपालिकाको सहआयोजना तथा प्रदेश सरकारको सहयोगमा भएको हो ।