झापा: तराइको लाइफ लाइनको रुपमा लिइने हुलाकी सडकको झापा मोरङ खण्ड बल्ल कालोपत्रे हुने भएको छ ।

काठमाण्डौको टेकुस्थित हुलाकी राजमार्ग निर्देशनालयले गत बैशाख २५ गते आर्थिक दैनिकमा एक सूचना प्रकाशित गरेर टेण्डर प्रकृया अगाडी बढाएपछि झापाको राजगढदेखि मोरङको बिराटनगरसम्मको हुलाकी सडकखण्ड कालोपत्रे हुने आशा पलाएको हो । यसअघि झापाको भद्रपुरदेखि राजगढसम्मको २० किमी सडक खण्ड कालोपत्रे भइसकेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ ।

बिराटनगरदेखि पूर्व रतुवा नदीसम्म मोरङ खण्डको सडकलाइ ४ भाग र रतुवादेखि राजगढसम्मको झापा खण्डको सडकलाई दुई भागमा बिभाजन गरी ठेक्का प्रकृया अगाडी बढाइएको हो । निर्देशनालयले गत भदौ २१ गते प्रकाशित गरेको सुचना अनुसार झापा खण्डको बिज्ञापन नम्बर १३ को रतुवा गौरीगञ्ज सेक्सन खण्डको कालोपत्रे निर्माणका लागि ५ वटा निर्माण व्यावसायी कम्पनीले र बिज्ञापन नम्बर १४ को रतुवा गौरीगञ्ज सेक्सन खण्डका लागि ६ वटा निर्माण व्यावसायी कम्पनीहरुले टेण्डर हालेका छन् ।

त्यसैगरि, मोरङ खण्डको बिज्ञापन नं १५ को रतुवा डाइनिया रङ्गेली सेक्सनको निर्माणका लागि ४ वटा कम्पनीले बिज्ञापन नं १९ को रङ्गेली कर्सिया कदमाहा बिराटनगर सेक्सनका लागि ३ वटा कम्पनीले‚ बिज्ञापन नं २० को रङ्गेली कर्सिया कदमाहा बिराटनगर सेक्सनका लागि ३ वटा कम्पनीले र बिज्ञापन नं २१ को रङ्गेली कर्सिया कदमाहा बिराटनगर सेक्सनका लागि ३ वटा निर्माण व्यावसायी कम्पनीले टेण्डर भरेका छन् । निर्देशनालयलाइ प्राप्त बोलपत्र दाताहरुको आर्थिक प्रस्ताबहरुको शिलबन्दी भदौ ३० गते टेकुस्थित निर्देशनालयमा खोलिएको तर मुल्याँकन हुन बाँकी रहेको इटहरीस्थित निर्देशनालयका इन्जिनीयर माधव पौडेलले बताए ।

पौडेलका अनुसार हुलाकी सडक कालोपत्रे गर्नका लागि सेन्टरबाट सडकको दुबै छेउ १५/१५ मिटर र सेट ब्याकका लागि ६/६ मिटर समेत गरि जम्मा २१/२१ मिटर सडक दाया बाया खाली गराउनु पर्ने अबस्था छ । तर मुआब्जाका लागि अहिले सम्म कुनै निर्णय नभएको कुरा उनले बताएका छन् । मुआब्जाको विवाद मिल्ने बित्तीकै काम सुरु हुने इञ्जिनीयर पौडेलले बताए ।

हुलाकी सडक कालीपत्रे हुने चर्चा चलेसँगै गत साउन १६ गते गौरीगञ्ज गाउँपालिकाले हुलाकी सडकको बीचबाट दाया बाया १५/१५ मिटर भित्र बनेका घर टहरा संरचना हटाउन ३५ दिने सुचना जारी गरेको थियो । तर गाउँपालिकाले दिएको म्याद गुज्रीसक्दा समेत कसैले पनि सडक छेउको घर टहरा सँरचना हटाउने चेष्टा गरेको देखिदैन । स्थानीय बिश्वराज रिजाल भन्छन्, सडकको सेन्टर केलाइ मान्ने भन्ने कुरामै अन्यौलता छ । स्थानीय तहले अमिनी बोलाएर सडक नाप जोख गरि यहा सम्म भत्काउनु पर्छ भनेर चिन्ह लागाइ दिए पछी मात्र स्थानीयले घर टहरा हटाउने बताएका छन् ।