धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको पर्यटन विकास तथा प्रर्वद्धन गर्न सरकारले पुर्वाधार निर्माणमा प्राथमिकता दिएको बताएका छन् ।

धरानमा शनिबार इष्ट टुरिज्म मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको पर्यटन विकास र प्रर्वद्धनमा ठोस योजना बनाएर काम गर्ने पनि बताए । उनले नेपालकै होचो स्थान केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म फाष्ट ट्रयाक बनाउने योजना रहेको पनि खुलाए । यस्तै, विारटनगर विमानस्थललाई अन्र्तराष्ट्रियस्तरको बनाउन पहल भइरहेको पनि बनाए । ‘अब हामी विलम्ब गर्दैनौं, ठोस योजना बनाएर काम गछौं,’मुख्यमन्त्री राईले भने,'नेपालको होचो ठाउँ केचनादेखि संसारकै सर्वोच्च शिखर सगरमाथा पनि यही प्रदेशमा छ । केचनादेखि सगरमाथाको आँगनसम्म पुग्ने फाष्ट ट्रयाक बनाउने योजनामा छौं, र पर्यटकहरुलाई पुर्याउछौं।' 

मुख्यमन्त्री राईले १ नम्बर प्रदेशको पर्यटन विकास र प्रर्वद्धनको लागि इष्ट टुरिज्म मार्ट कोशेढुंगा हुने पनि बताए । नेपाल भ्रमण बर्ष २०२० को लागि प्रदेशमा महत्वपुर्ण आधार तयार गर्ने उल्लेख गर्दै उनले पर्यटकीय गन्तव्यहरुको ब्राण्डिङ गर्न आवश्यक भएको पनि बताए । टुरिज्म मार्ट पर्यटनको ब्राण्डिङ र प्रर्वद्धनमा महत्वपुर्ण हुने उनले बताए ।

Cm1

प्रदेश नं १ मा साँस्कृतिक, धार्मिक र पर्वतीय पर्यटनको माध्यमबाट बर्षमा लाखौं पर्यटक भित्र्याउन सकिने मुख्यमन्त्री राईको भनाई थियो । पर्यटन बर्ष २०२० लाई आधार मानेर सरकारले पर्यटनको विकास र प्रर्वद्धन गर्न पुर्वधार निर्माणमा ध्यान दिएको पनि उनले बताए । मुख्यमन्त्री राईले भने,‘पर्यटन बर्षलाई औपचारिकतामा सिमित हुन दिदैनौं, ठोस काम गर्दैछौं, पुर्वाधारमा लगानी गर्दैछौं ।’

वन, उद्योग तथा पर्यटन मन्त्री जगदीश कुसियतले सरकारले प्रदेशको पर्यटन प्रर्वद्धनमा यस्ता कार्यक्रम नियमित गर्ने बताए । पर्यटनको विकास विना प्रदेशको विकास र समृद्ध सम्भव नभएको पनि उनले बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पुर्वाधार अभाव मुख्य चुनौती भएको उल्लेख गर्दै पर्यटनको विकास, प्रर्वद्धन तथा बजारीकरण गर्न बोर्डले भविष्यमा पनि सहकार्य गर्ने बताए ।

धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरान पर्यटनको हबकोरुपमा स्थापित हुन सके अन्य क्षेत्रको पनि विकास हुने बताइन् । धरानले आफुलाई मात्र नभै अन्य जिल्लालाई पनि बिक्री गरिरहेको बताउदै उनले धरानको मिशन शिक्षा, स्वास्थ्य र पर्यटनको विकास भएको बताइन् ।