पथरी: रतुवामाई नगरपालिका ४ झुर्कियामा निर्माणाधिन सार्वजनिक शौचालय र ढलमा अनियमिता भएको आरोप लागेको छ । नगर प्रमुख रविन राईले नै मनोमानीढंगले ठेक्का सम्झौता गरेको र कमसल निर्माण सामग्री प्रयोग भएको आरोप छ ।

यो आरोप अरु कसैले लगाएको होइन, नगरकी उपप्रमुख दमयन्ता चुँडालले नै लगाएकी हुन् । शनिबार झुर्कीया बजारमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख चुँडालले अनुगमन समितिको प्रतिवेदन विना नै नगरप्रमुख राईले ७५ प्रतिशत निकासा दिएको बताइन् । अनुगमन समिति संयोजकले प्रतिवेदन पनि दिएको छैन, समितिको बैठक पनि बसेको छैन, तर रकम निकासा भइसक्यो,’ उपप्रमुख चुँडालले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत नभएको समयमा निमित्तको भरमा नगर प्रमुख राईले रकम निकासा दिएको उनले बताइन् । निर्माणमा अनियमिता भएको भन्ने जनगुनासो आएपछि गत भदौ २९ गते नगर प्रमुख राईले पत्रकार सम्मेलन गर्दा मात्रै आफुले ७५ प्रतिशत निकासा भईसकेको थाह पाएको उनको भनाइ थियो । स्थानीय तहमा अनुगमन समितिको संयोजक उपप्रमुख हुने कानुनी व्यवस्था छ ।

press

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तराई–मधेश सम्बृद्ध कार्यक्रम अन्तरगत कृषि संकलन केन्द्र निर्माणमा प्राप्त रकमलाई योजना परिवर्तन गरि नगरप्रमुख राईले मनोमानी रुपमा काम गरेको उपप्रमुख चुँडालले आरोप लगाइन् । नगरप्रमुख राईले आफ्नै भाई रोमन राईलाई शौचालय र ढल निर्माणको ठेक्का दिएका छन् । यो ठेक्का पनि विना प्रतिष्पर्धा भाईलाई दिएको उपप्रमुखको आरोप छ ।

मन्त्रालयबाट १ करोड १० लाख रकम विनियोजन गरिएकोमा ९४ लाख ५१ हजार ५ सय ५७ रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो । बाँकी रकम क्रमागत योजनामा राखिएको थियो । गत आर्थिक वर्षको अन्त्यतिर निर्माण कार्य शुरु गरिएको थियो । तर, निर्माण पुरा नभै नै संरचनाहरु भत्कन थालेको छ । वडा नं ४ का अध्यक्ष देवराज राजवंशीले पनि शौचालय र ढल निर्माणमा चित्त नबुझेको बताए । ठेकेदार रोमन राईले भने निर्माणको क्रममा केही कमजोरी भएको स्वीकार गर्दै आफुले प्रतिस्पर्धाबाट नै ठेक्का पाएको दाबी गरे । उनका अनुसार १५ जनाले टेण्डर हालेकोमा आफुले पाएको जिकिर गरे । 

preSSS1