धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले आयोजना गरेको ३ दिने नगसभाले विभिन्न २४ बुँदे घोषणा पत्र जारी गरेको छ ।

भदौ अन्तिम साता नै आयोजना भएको सभाको घोषणा पत्र कांग्रेसले आज आइतबार मात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । इतिहासमै कांग्रेसले पहिलो पटक बन्दसत्रसहित ३ दिने नगरसभा आयोजना गरेको हो । भदौ २५ गते उद्घाटन भएको थियो भने थप २ दिन बन्दसत्रमा राजनैतिक, सांगठनिक प्रतिवेदनमा बहस, छलफल भएको थियो । कांग्रेसको इतिहासमा बन्दसत्रसहित भएको सभा यो पहिलो हो ।यो सभाले २४ बुँदे घोषणा पत्र जारी गरेको छ भने नेकपा र धरान सरकारको तीब्र आलोचना गरेको छ । यही घोषणा पत्रलाई आधार बनाएर आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा कांग्रेसले चुनावी घोषणा पत्र पनि तयार गर्ने जनाएको छ । 

कांग्रेसको सभाले धरान दलाल, कमिशन खोर र कम्युनिष्ट कार्यकर्ताहरुको घेराबन्दीमा परेकोले परिवर्तन र प्रगतिको बाटोमा अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ । घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले तिनै दलाल, कमिशन खोरहरुको कारण धरानले आफुले चाहेको मुद्दा र आवश्यकतालाई पनि प्रष्टसँग अघि ल्याउन नसकेको पनि जनाएको छ ।

धरानमा हरेक चुनाव जितिरहेको कम्युनिष्टहरुको लक्ष्य चुनाव जित्नु र सत्ता हातमा लिनु मात्र भएकोले धरानको मनोविज्ञानलाई झक्झकाउनुपर्ने पनि कांग्रेसले ठहर गरेको छ । कमिशन खोर, दलाल र कम्युनिष्टको कारण धरान कमजोर भएको ठहर गर्दै कांग्रेस नगरसभाले त्यो मनोविज्ञान र घेराबन्दी तोड्नसमेत पहलकदमी लिने निष्कर्ष निकालेको छ । ‘आज सभ्य धरानको मनोविज्ञानलाई घेराबन्दी गरी, निश्चित कार्यकर्ताहरुको आडमा कम्युनिष्टहरुले रधानलाई खुला समाज र परिवर्तनको पक्षमा अघि बढ्न रोकेको छ । धरान एक किसिमको दलाल, कमिशन खोरहरुको प्रभावमा परेको छ,’घोषणा पत्र सार्वजनिक गर्दै सभापति तिलक र्राले भने,‘धरानको सबै खालको गतिविधिहरुमा तिनै दलाल कमिशन खोरहरुको पहुँच झल्कने गरेको छ, ति कमिशन खोर र दलालहरुको स्वार्थको कारण धरान भित्रभित्रै कमजोर बनिरहेको छ । अब कांग्रेस एकढिक्का भएर धरानको त्यो मनोविज्ञान र घेराबन्दी तोड्न तयार हुनुपर्छ ।’

चुनाव जितेर स्थानीय तहको नेतृत्वमा आएको तत्कालिन एमालेले एकलौटी ढंगबाट आयोजनाबाट फाइदा लिने गरी जनताको समस्या समाधान गर्न ध्यान नदिदा आयोजना विफलतर्फ उन्मुख भएको सभापति राईले बताए । यस्तै, बसपार्क निर्माणको लागि सही व्यवस्थापन र पहलकदमीको अभावले पटक पटक सिलान्यासमा मात्र सिमित भएको कांग्रेसको ठहर छ । एयरपोर्ट धरानको लागि आवश्यक भएको बताउदै सभापति राईले नबन्ने हो भने उक्त जग्गामा नगरबासीलाई प्रत्यक्ष फाइदा पुग्ने खालको योजना ल्याउनुपर्ने पनि बताए ।

congresss-ko-

सुकुम्बासीहरुलाई बषौंदेखि बस्दै आएको जग्गाको धनीपुर्जा वितरण गर्न र एकीकृत बस्ती विकास आयोजना निर्माण गर्नुपर्ने पनि कांग्रेसको नगरसभाले परित गरेको छ । धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधारको संरक्षण गर्न जरुरी भएको ठहर गर्दै कांग्रेसले जलाधारबारे स्थानीय र केन्द्र सरकारले ठोस निर्णय लिनुपर्ने पनि जनाएको छ । पर्यटन प्रर्वद्धनको लागि धरानको बहुजातीय, बहुसाँस्कृतिलाई दस्तावेजीकरण गर्ने र प्रर्वद्धन गर्नुपर्ने कांग्रेस सभाले पारित गरेको छ । ‘कांग्रेस सरकारको उपहारकोरुपमा रहेको वीपी प्रतिष्ठानको विकास, विस्तार र स्तरवृद्धिको लागि कम्युनिष्ट नेता, सांसदहरुले बजेट ल्याउन कुनै पहल गर्नसकेनन् । कांग्रेस सरकार हुदा आउने ठुलो बजेट पनि नेकपाको सरकार बनेपछि असहिष्णुता देखाउदै कटौटी गरियो,’सभापति राईले भने,‘प्रतिष्ठानलाई अस्थिरतातर्पm धकेल्न नेकपाकै नेताहरुको भुमिका छ । आफ्नो स्वार्थ सिद्धि गर्न सत्ता र शक्तिको दुरुपयोग गरएको छ ।’

धराने जनताहरुले महंगीको मारमा रहेको भन्दै कांग्रेसले लोड, अनलोड, अस्वास्थ बजार प्रतिस्पर्धा, विचौलियाको चर्को मुनाफा महंगीको कारणतर्फ जनप्रतिनिधिको ध्यान नगएको आरोप लगाएको छ । धरानबाट लगानीकर्ताहरु पलायन हुने अवस्था बन्दै गएकोप्रति पनि स्थानीय सरकारले ध्यान नदिएको कांग्रेसको आरोप छ । ‘मुल्यमा एकतारुपमा र व्यापार सेवामा बिशिष्टीकरण गर्नु आजको आवश्यकता हो, अब मासु पसल एकैतिर, हार्डवेयर एकातिर, लत्ताकपडा एकातिर, आइटीको एकातिर बजारको अवधारणा ल्याउनुपर्छ, जथाभावी गर्नुहुदैन, यसतर्फ ध्यान पुगेको छैन,’सभापति राईले भने ।

कांग्रेसले यसपाली सबैभन्दा पहिला धरानमा देखा परेको डेंगु रोगबारे सम्भावित समस्याको आँकलन गर्न र नगरको आन्तरिक मनोविज्ञानलाई आकर्षित, प्रभावित पार्न नसक्दा रोग नियन्त्रणमा धरान उपमहानगरपालिका नेतृत्व असफल भएको पनि आरोप लगाएको छ । हालसम्म भरपर्दो र ठोस योजना ल्याउन उपमहागनर नेतृत्व असफल भएको कांग्रेस सभापति राईले बताए । यसैगरि, कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उपमहानगरपालिकाको कोही पनि कर्मचारीलाई जिम्मेवारी दिएर प्रयोग नगर्न पनि निर्वाचन आयोगमा माग राखेको छ । ‘उपमहानगरको कर्मचारीहरु नेकपाको कमिटिमा बसेका छन्, गएको चुनावमा तिनै कर्मचारीले गर्दा ३ दिनसम्म मतगणना रोकियो, निपष्क्ष चुनाव गराउन ती कर्मचारी नखटाइयोस् भन्ने हाम्रो माग छ,’उनले भने ।