धरान: साहसिक खेल पर्यटनको क्षेत्रमा सक्रिय बुढासुब्बा प्याराग्लाइडिङ प्रालि धरान र काठमाण्डौंको ट्राभहिल डटकम प्रालिबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ ।

धरानमा शनिबारदेखि जारी इष्ट टुरिज्म मार्ट २०१९ को क्रममा यी दुई कम्पनीबीच आइतबार सम्झौता भएको हो । सम्झौता पत्रमा ट्राभहिलको तर्फबाट प्रदेश १ का मुख्य व्यापार प्रर्वद्धक उपेन्द्र प्रधानले हस्ताक्षर गरे भने बुढासुब्बा प्याराग्लाइडिङको तर्फबाट प्रबन्ध निर्देश एवं पाइलट रामप्रसाद राईले हस्ताक्षर गरे । मार्ट आयोजनास्थलको स्टलमा नै बिजनेश टु बिजनेश(बि टु बि) छलफलको क्रममा दुवै कम्पनीले सहकार्य गर्ने निष्कर्षमा पुगेपछि यो सम्झौता सम्भव भएको हो ।

दोस्रो पटक धरानमा आयोजन भएको मार्टमा ट्राभहिलको पहिलो सहभागिता हो । बुढासुब्बा प्याराग्लाइडिङले पुर्वमा साहसिक पर्यटक भित्र्याउन चाहिरहेको थियो भने ट्राभहिलले पनि साहसिक पर्यटकहरुलाई बिक्री गर्न पुर्वको प्याकेज खोजीरहेको थियो । दुवैलाई मार्टले सहकार्य गर्ने अवसर जुटाइदिएको हो । सम्झौता अनुसार ट्राभहिलमार्फत धरान घुम्न आउने पर्यटकहरुलाई प्याराग्लाइडिङ, र्याफटिङ, साइक्लिङ गराउने उल्लेख छ भने फेसबुक तथा अन्य सञ्चारमाध्यममा दुवैले नै एशोसिएट भनेर लेख्न मिल्ने र लोगो प्रयोग गर्ने उल्लेख छ ।

travv

यस्तै, दुवै कम्पनीको व्यापारमा हित हुने काम गर्ने पनि उल्लेख छ । यसैगरि, बुढासुब्बा प्याराग्लाइडिङले पनि धरानबाहेक देश तथा विदेश घुम्न जानेहरुलाई सिफारिश गर्ने, अन्र्तराष्ट्रिय हवाई टिकट, होटल तथा गाडीको लागि सिफारिश गर्ने सम्झौता पत्रमा उल्लेख छ । ट्राभहिल डटकम नेपाल भित्र र नेपाल बाहिर पर्यटकहरुलाई टुर प्याकेज बिक्री गरिरहेको कम्पनी हो । यसका सिइओ विश्वविजय खनाल र प्रबन्ध निर्देशक दोर्णजंग श्रेष्ठ दुवै जना दुबईमा कार्यालय खोलेर कम्पनीको प्याकेज बिक्री गर्छन् । त्यसैले बुढासुब्बा प्याराग्लाइडिङसँगको व्यवसायिक सम्झौता धरान र पुर्वी नेपालको पर्यटनको लागि महत्वपुर्ण अवसर भएको ट्राभहिलकी टुर कोअर्डिनेटर विपना लामाले बताइन् ।

लामाका अनुसार यो कम्पनीले नेपाल घुम्न आउने पर्यटकहरुलाई सम्पुर्ण व्यवस्थापन गर्ने गरेको छ । यस्तै, विदेश घुम्न जाने नेपाली पर्यटकहरुलाई पनि प्याकेजमा घुमाउन लैजान्छ । नेपाल घुम्न आउने पर्यटकहरु काठमाण्डौं, पोखरा, चितवन, नगरकोट र धुलिखेलमा बढी केन्द्रीत हुने गरेको उनले बताइन् । ‘हामी पुर्वी नेपालको पनि गन्तव्यहरु खोजीरहेका थियौं, धरानलाई हब बनाएर साहसिक पर्यटनको ठुलो सम्भावना देख्यौं,’लामाले सम्झौता गर्नुको कारण खोलिन्,‘धरानमा प्याराग्लाइडिङ, साइक्लिङ, र्याफ्टिङ रहेछ । धार्मिकस्थलहरु रहेछ, नगरकोट जस्तै भेडेटार र नमस्ते झरना रहेछ, यो सबै देखेर हामी उत्साहित छौं ।’

tourism

विदेशी पर्यटकहरु एड्भेञ्चर(साहसिक) र मनोरञ्जनको लागि आउने गरेकोले धरान आसपासमा यी दुवै कुरा आफुले पाएको उनले बताइन् । धरानलाई हब बनाएर एक साताको प्याकेज बनाउन सकिने उनको भनाई छ । ‘धार्मिक टुर प्याकेज, भेडेटार क्षेत्रको प्याकेज र एड्भेञ्चरको प्याकेज बनाउन सम्भव छ जस्तो लाग्यो । एउटा पुरा एड्भेञ्चरको मात्र पनि प्याकेज गर्नुपर्छ, कम्तीमा एक साता पर्यटकलाई बसाउन सकिन्छ,’उनले भनिन्,‘हामी दुवै कम्पनीबीचमा पुनः यसबारेमा छलफल गरेर तयार गछौं । हामी बुढासुब्बाको भिडियो, फोटो लिन्छौं, प्रोफाइल तयार गछौं र युट्युब, वेभसाइट, सामाजिक सञ्जालहरुमार्फत प्रचार गछौं ।’

बुढासुब्बा प्याराग्लाइडिङका प्रबन्ध निर्देशक राईले ट्राभहिलमार्फत विदेशी पर्यटकहरुलाई पुर्वको धरान, इलाममा भित्र्याउन यो सम्झौता महत्वपुर्ण हुने प्रतिक्रिया दिए । ट्राभहिलको यु.ए.ई.(दुबई)मार्फत पर्यटनमा राम्रो अनुभव भएकोले त्यहाँबाट विदेशी पर्यटकहरु पुर्वी नेपाल आउने उनले अपेक्षा व्यक्त गरे । ‘दुबईमा विश्वकै पर्यटक आएका हुन्छन्, त्यहाँबाट ट्राभहिलमार्फत नेपाल आउने पर्यटकलाई पुर्व धरान, इलाम पनि आउने वातावरण बनाउने पहल हो,’राईले भने,‘पर्यटकहरु के चाहन्छन् ? कस्तो सुविधा दिनुपर्ने हो ? भनेर यो सम्झौताको आधारमा प्याकेजबारे थप छलफल गछौं ।’