धरान : पुर्वी नेपालको पर्यटकीय गन्तव्यहरुलाई अन्र्तराष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने उद्देश्यले आयोजित तीन दिने इष्ट टुरिज्म मार्ट २०१९ सोमबार सम्पन्न भएको छ ।

१ नं प्रदेशको १४ जिल्लाका पर्यटन व्यवसायीसँगै नेपालको विभिन्न जिल्लाका पर्यटन व्यवसायीहरु पनि मार्टमा सहभागी थिए । यस्तै, भारतको विभिन्न राज्य, भुटान र बङगलादेशबाट पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरु सहभागी थिए । नेपालका पर्यटन व्यवसायीहरुले आफ्नो ठाउँको पर्यटकीय गन्तव्य एवं टुर प्याकेजबारे विदेशी पर्यटन व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

आयोजक समितिका अध्यक्ष भवेश श्रेष्ठले मार्ट सफलतापुर्वक सम्पन्न भएको बताए । ‘मार्ट सफलतापुर्वक सम्पन्न भयो, सहभागी विदेशी पर्यटन व्यवसायीहरु सन्तुष्ट छन,’उनले भने,‘आज पनि विदेशी पर्यटन व्यवसायीहरु पुर्वी नेपालको विभिन्न गन्तव्यहरुको फेमट्रिपमा जानुभएको छ ।’ उनका अनुसार एउटा टोली सुनसरीको कोशीटप्पु क्षेत्र भ्रमण गएको थियो भने भुटानको टोली प्रसिद्ध हलेसी गएका छन् भने सिलगुडी र सिक्किमको टोली इलाम गएका छन् ।

ETM 1

यस्तै, विहारको टोली धनकुटाको हिले र तेह्रथुमको वसन्तपुर फेमट्रिपमा गएका छन् । ‘उहाँहरुले घुम्न चाहेको हाम्रो गन्तव्यहरु देखाएर यहाँ पर्यटक घुमाउन ल्याउनुस् भन्ने हो,’उनले भने,‘सिक्किमसँग भएको समझदारीको हस्तक्षारले पुर्वी नेपालको पर्यटन विकास र प्रर्वद्धनमा ठुलो मद्दत पुग्नेछ ।’

आइतबार विराटनगरमा ट्राभल एजेन्ट एशोसिएशन अफ सिक्किम(टास) र इष्ट टुरिज्म मार्टबीच समझादारी पत्रमा हस्तक्षरसमेत भएको थियो । दुवै क्षेत्रको पर्यटकीय गन्तव्यबारे व्यापक प्रचारप्रसार गर्ने र पर्यटकहरुलाई पनि लैजाने सहमति भएको अध्यक्ष श्रेष्ठले बताए । यो समझदारीले नेपाल भ्रमण बर्ष २०२० को पनि प्रर्वद्धन हुने उनले बताए ।