धरान: पुर्वको विकसित शहर धरानको प्रमुख समस्यामा लागुपदार्थ दुव्र्यसन पनि हो । आफ्ना छोराछोरीलाई लागुऔषधको कुलतबाट कसरी जोगाउने भन्ने चुनौती यहाँका अभिभावकहरुलाई हुन्छ । प्रहरीले दिनहुँजसो लागुपदार्थसहित धराने युवाहरु पक्राउ गरिरहेको हुन्छ । यसले पनि धरानमा लागुऔषधको समस्या कुन हदसम्म छ भन्ने देखाउछ ।

धरान १६ का ३२ बर्षीय अवतार श्रेष्ठ पनि अपवाद भएनन् । उनलाई थाह भएअनुसार स्कुल पढ्दा नै झण्डै १३ बर्षको उमेरदेखी नै उनले लागुपदार्थ लिन थालेका हुन् । बीच बीचमा उनले कुलत छोड्ने प्रयास पनि गरे तर, सकेनन् । परिवार र समाजले उनलाई अर्कै नजरले हेर्न थालिसकेको थियो । अहिले भने तिनै अवतारले परिवार, समाज र आफ्नो साथीभाईबाट बधाई अनि प्रसंशा पाइराखेका छन् ।

आज सोमबार बिहान उनलाई संञ्जिवनी सुधार केन्द्रले त एक कार्यक्रम आयोजना गरी सम्मान नै गर्यो । केही दिनयता अवतारले आफ्नो जीवनमा सोच्दै नसोचेको र अपेक्षा नै नगरेको परिघटनाहरु भइरहेको छ । शुरुमा त उनी आफै के भयो भनेर अलमलमा परे । अहिले सबैको बधाई, प्रसंशा र शुभेच्छा पाएर खुशी छन्, उत्साहित छन् ।

खासमा भन्नु पर्दा अवतारले नयाँ जीवन पाएको हो । विगत ५ महिना उनले आफ्नो इच्छाशक्ति वलियो पारे । आत्मवल मर्न दिएनन्, र बषौं दलदलमा फसेको कुलत तथा दुव्र्यसनबाट मुक्ति पाए । त्यति मात्र कहाँ हो र ? भर्खर विरगञ्जमा सम्पन्न भएको ओपन रेन्बो क्लासिक राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिपको मेन्स फिजिक्समा प्रथम भएर च्याम्पियन नै भए । नेपालभरबाट सहभागी १३ जना खेलाडीलाई पछि पार्दै अवतारले ५१ हजार नगद पनि जिते । यही कारण हो, हिजो उनीसँग टाढिएकाहरु पनि बधाई र शुभकामना दिइरहेका छन् ।

Avataar1

उनका साथीभाई र परिवार उनीसँग असाध्यै खुशी छन् । त्यो खुशी देखेर अवतार पनि मख्ख छन् । ‘म त खुशी छँु, अझ मभन्दा पनि मेरो साथीभाई र परिवार असाध्यै खुशी छन्,’अवतारले भने,‘अस्तिसम्म त्यसरी लगत बाटोमा हिडेको छोरा अहिले सुध्रिएको छ, बडिबिल्डिङमा त टाइटल नै जितेर आउदा परिवारमा खुशी छाएको छ ।’

असोज ३ र ४ गते आयोजित प्रतियोगितामा धरानसँगै नेपालगञ्ज, विरगञ्ज, काठमाण्डौं, चितवन, बुटवल, झापालगायत क्षेत्रबाट खेलाडीहरु पुगेका थिए । त्यसैले उपाधि जित्नु चानचुने कुरा थिएन । तर, प्रशिक्षक पुर्ण तामाङको निरन्तरको हौसलाले अवतार प्रतियोगितामा भाग लिन पुगे, र च्याम्पियन नै बने । ‘प्रशिक्षकको ठुलो योगदान छ, उहाँकै प्रेरणाले म अहिले यो ठाउँमा छुँ,’भावुक हुदै अवतारले भने,‘पहिलो पटक सहभागी हुँदा नै टाइटल जिते, सोचेकै थिइनँ ।’

सञ्जिवनी केन्द्र बन्यो साँच्चैको सञ्जिवनी

करिब १३ बर्षको उमेरमा नै दुव्र्यसनमा फसेका थिए अवतार । उनी बेला बेला लागुपदार्थ छोड्थे, तर पुनः लतमा फसिहाल्थे । २०, २५ को युवा उमेरमा पनि उनले यसरी नै बिताए । ‘म छोड्छुँ भन्थे, प्रयास पनि गर्थे तर सक्दिनथेँ, फेरि शुरु भैहाल्थ्यो,’उनले भने,‘म के गर्दैछुँ, के छुँ भन्ने केही होस नै पनि थिएन ।’

तथापी उनी यो जीवनबाट मुक्ति चाहन्थे, र आफुलाई परिर्वतन गराउन चाहन्थे । त्यसैले धरान १३ स्थित सञ्जिवनी सुधार केन्द्रमा उनी पुगे । त्यहाँ दुव्र्यसनबाट मुक्त गराउन ३ महिना राख्ने गरिन्छ । त्यही समयमा अवतारले लागुपदार्थलाई बिर्सदै गए । उनले जिम गर्न पनि शुरु गरेका थिए । केन्द्रबाट निस्कदा अवतार दुव्र्यसन मुक्त भइसकेका थिए । त्यहाँबाट निस्किएर पनि उनले जिम जान छोडेनन् ।

avataar3

उनका प्रशिक्षक पुर्ण तामाङले अवतारमा क्षमता देखेपछि प्रतियोगितामा भाग लिन सुझाव दिए । ‘अहिले म आफैलाई देखेर अचम्मित छुँ, कुनै दिन यसरी सुध्रिएर सम्मान पाउछुँ भन्ने सोचेको थिइन्,’उनले भने ।
वलियो इच्छाशक्ति हुँदा असम्भव भन्ने केही छैन भन्ने उदाहरण अवतारले प्रस्तुत गरेको सञ्जिवनीका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताए । अवतारको सफलताले गर्दा उपचारमा रहेका अन्य युवाहरुलाई पनि प्रोत्साहन मिलेको उनको भनाई छ । ‘अवतारको सफलताले गर्दा उपचार सकेर हामी पनि जिम जान्छौं भन्नेहरु थुप्रै छन्, केन्द्रमा पनि जिम गरिरहेकाहरु छन्,’उनले भने,‘जो दुव्र्यसनमा छ, तर त्यसबाट मुक्ति चाहनेहरुलाई हौसला, प्रेरणा मिलोस् भनेर अवतारलाई सम्मान गरिएको हो ।’

सञ्जिवनीका अध्यक्ष ताम्रकार आफै पनि दुव्र्यसन त्यागेका युवा हुन् । समाजले दुव्र्यसनलाई लगत नजरले हेर्ने र अपहेलित गर्ने गरेको छ । ‘दुव्र्यसनमा फसेकाहरुलाई अपहेलना गर्नुभन्दा उपचार गराउनुपर्छ, म आफै पनि पहिला युजर हुँ, परिवर्तन हुनसक्छौं,’उनले भने,‘अवतारले त झन् ५ महिनाभित्र नै सुध्रिए, र मेडल नै जिते ।’