धरान : सानिमा बैंक, धरान शाखाले दुई जना छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । मङ्गलबार सानिमा बैंक धरान, शाखाले एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति पाउने दुई छात्राको नाम घोषणा गरेको हो ।

श्री शिक्षा सदन सेकेण्डरी स्कुल कक्षा ११ मा अध्ययनरत कितु श्रेत्री र श्री पब्लिक माध्यमिक विद्यालय, फुस्रे कक्षा ११ मा अध्ययनरत तनु राईले छात्रवृत्ति पाएकी छन् । कितु र तनुलाई बधाई तथा शुभकामना दिँदै छनोट समतिका सदस्य लालबहादुर बुढाथोकी र छनोट समितिका सदस्य तथा सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले खादा तथा टिका लगाएर सम्मान गरे ।

0000 2

सानिमा बैंकले विगत ६ वर्षदेखि काठमाण्डौं उपत्यका बाहिर रहेका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २-२ जना विद्यार्थीहरुलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको सानिमा बैंक धरान शाखाका म्यानेजर लोकनाथ अधिकारीले जानकारी दिए । सानिमा बैंक धरान शाखाले एक छनौट समिति गठन गरि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छनोट गरेर प्रत्येक वर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको अधिकारीले बताए । अधिकारीले भने, “यसवर्ष पनि हामिले ५ जनाको छनोट समिति गठन गरेका थियौं, छनोट समितिले धरान भरीका १० जना विद्यार्थीहरु छनोट गरेका थिए, ति दशजना विद्यार्थी मध्येबाट २ जना छात्रालाई छनोट गरिएको हो ।”

म्यानेजर अधिकारीका अनुसार छात्रवृति पाएका विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक समाग्रीहरु निशुल्क हुनेछ । साथै छात्रवृत्ति पाएका विद्यार्थीलाई मासिक दुई दुई हजार रुपैयाँ पनि सानिमा बैंकले प्रदान गर्ने अधिकारीले बताए ।