धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको कार्यालय धरान १८ स्थित बुद्धचोकमा सरेको छ ।

कोशी राजमार्गसँगै धरान १ मा अवस्थित पार्टी कार्यालय बुद्धचोकमा सरेको नगर सभापति तिलक राईले जानकारी दिए । उनका अनुसार असोज ५ गतेदेखि नै पार्टी कार्यालय बुद्धचोकमा सारिएको हो । हाल बुद्धचोकमा सारिएको पार्टी कार्यालय भएको भवन सभापति राईको घर हो । कांग्रेसको धरानमा आफ्नो जग्गा छैन भने भवन पनि हालसम्म निर्माण भएको छैन ।

सभापति राईका अनुसार पार्टी कार्यालय निर्माणको लागि जग्गा व्यवस्थापन मुख्य चुनौतीकोरुपमा देखा परेको थियो । तर, हाल वडा नं १८ की वडा कार्यालय सदस्यमा निवार्चित दिलकुमारी राईले ५० लाख रुपैया मुल्य पर्ने १ कट्ठा ५ धुर जग्गा दिएकी छिन् । उनले आफ्नो बुबा गणेशबहादुर राई(सनक) र आमा बहनसरा राई, छोरा सुदिप राईको स्मृतिमा पार्टी कार्यालय निर्माणको लागि जग्गा दिएकी हुन् । भविष्यमा चाडै कांग्रेसको आफ्नो पार्टी कार्यालय निर्माण हुने सभापति राईले बताए ।