धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २६ औं बार्षिक स्वास्थ्य विज्ञान सम्मेलन भोली बुधबारदेखि हुने भएको छ ।

प्रतिष्ठानको अडोटरियम हलमा हुने सम्मेलन ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ । प्रतिष्ठान विरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो भने स्वास्थ्य अनुसन्धान पनि हुने ठाउँ हो । यहाँ बर्षमा नेपालकै सबैभन्दा धेरै शोध तथा अनुसन्धानहरु हुने गरेको छ । स्वास्थ्यसँग सम्बन्धित तिनै सोध, अनुसन्धान पत्रहरु बर्षेनी सम्मेलन गरेर प्रस्तुत गर्ने गरिएको छ ।

यसपाली यो सम्मेलनको संयोजन तथा व्यवस्थापन गर्ने जिम्मा प्रतिष्ठानको बालरोग विभागले जिम्मा पाएको छ । मंगलबार विभागले पत्रकार सम्मेलन गर्दै ३ दिनमा २ सय १० वटा शोध तथा अनुसन्धान पत्रहरु प्रस्तुत गर्ने जानकारी दिएको छ । प्रतिष्ठानका विभिन्न ३२ वटा विभागहरु छन् । ती सबै विभागहरुबाट सोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक तथा विभागीय प्रमुख प्रा.डा.प्रकाश पौडेलले जानकारी दिए ।

scientific

डा.पौडेलका अनुसार सम्मेलनमा प्रतिष्ठानका सम्पुर्ण प्राध्यापक, शिक्षक, डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुले भाग लिनेछन् । यस्तै, प्रतिष्ठानमा गरिएको सोध तथा अनुसन्धान र समाजमा पनि गरिएका अनुसन्धान पत्रहरु प्रस्तुत गरिनेछ । ती मध्ये उत्कृष्ट अनुसन्धान र सोधपत्रलाई पुरस्कृत पनि गरिने डा.पौडेलले बताए । ‘अनुसन्धानले केही नाँ कुरा पत्ता लगाएको हुन्छ, त्यसले उपचार र रोकथाम गर्न मद्दत पुग्नसक्छ,’डा.पौडेलले भने,‘यी अनुसन्धानले उपचार विधि, पद्दतीमा सुधार गर्नुपर्ने वा स्वास्थ्य नीतिमा पनि सुधार गर्नुपर्ने कुराहरु आउनसक्छ ।’

विभागका एसिस्टेण्ड प्रोफेसर डा.शंकर यादवका अनुसार वीपी प्रतिष्ठानसँगै इटहरी, इलाम, जनकपुरलगायत स्थानमा गएर गरिएको सोध तथा अनुसन्धान पत्रहरु पनि प्रस्तुत हुनेछ । तीन दिन प्रस्तुत हुने अनुसन्धान पत्रमाथि छलफल गरी निष्कर्ष पनि निकालिने उनले बताए । अर्का डा.अरुणकुमार सिंहले पनि हाल उपचारमा अपनाइरहेको विधि, पद्दतीको प्रभाव कस्तो छ भन्ने कुरा अनुसन्धान पत्रहरुबाट थाह पाउन सकिने बताए ।