धरान: नेपाली कांग्रेसका प्रवक्ता तथा प्रखर युवा नेता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारले जनतामा संघीय व्यवस्थाप्रति नै वितृष्णा पैदा गराएको आरोप लगाए ।

कांग्रेस सुनसरीले मंगलबार धरानमा आयोजना गरेको दोस्रो जागरणसभाको सुनसरी जिल्लाव्यापी समापन तथा विरोध सभालाई सम्बोधन गर्दै युवा नेता शर्माले जनताका उत्पन्न वितृष्णाको ओखती भने कांग्रेससँग मात्र भएको पनि बताए । कम्युनिष्टहरु भाषण मात्र गर्न जान्ने तर शासन गर्न नजान्ने बितेको डेढ बर्षमा प्रमाणित भएको उल्लेख गर्दै शर्माले कम्युनिष्टहरुको असफलताको नतिजा जनतामा देशको अवस्थाप्रति नभै व्यवस्थाप्रति नै वितृष्णा जागेको बताए । ‘यो ३ तहकै सरकारको असफलताले जनतामा यो व्यवस्थाप्रति नै वितृष्णा जागेको छ, यो लोकतन्त्रको लागि दुःखद हो,’शर्माले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, अरु हुन सक्दैन । वितृष्ण देशको अवस्थाप्रति हुनुपर्छ, यो व्यवस्थाप्रति होइन, र यो वितृष्णाको ओखती कांग्रेससँग मात्र छ ।’

कम्युनिष्ट सरकारको कारण देशमा बेथिति, भ्रष्टचार, बेरोजगारी र अशान्ति मच्चिएको भन्दै नेता शर्माले अब कांग्रेसले देश र यो व्यवस्था बचाउने जिम्मेवारी लिने बताए । उनले गएको चुनावमा कांग्रेसले हार व्यवहोरेकोमा दुःख नमान्न आफ्ना नेता, कार्यकर्ताहरुलाई आग्रह गर्दै नेपाली जनतामा कम्युनिष्टहरुप्रतिको भ्रम तोडिने अवसर पाएको धारणा राखे । ‘जे भयो राम्रैको लागि भयो, कांग्रेसले चुनावमा बहुमत पाएको भए जनतामा कम्युनिष्टहरुले जितेको भए अझ राम्रो हुन्थ्यो होला भन्ने भ्रम रहीरहन्थ्यो,’उनले भने,‘कांग्रेसको हारले जनताले एक बर्षमै कम्युनिष्टहरुको कस्तो हुन्छ भनेर चाल पाए ।’

congrss-sava

प्रवक्ता शर्माले जनताले एक बर्षमा नै कम्युनिष्टको बहुमतको सरकारको बेथितिबारे थाह पाएकोले ५ बर्षसम्म नपर्खन पनि आग्रह गरे । उनले आगामी मंसिर १४ गतेको उपनिर्वाचनबाट नै कम्युनिष्ट सरकारलाई जवाफ दिन कांग्रेसलाई जिताउने उनले बताए । ‘जनताले एक बर्षमा नै कम्युनिष्ट सरकार कस्तो हुन्छ भन्ने थाह पाए, अब ५ बर्षसम्म प्रतिक्षा गर्नुहुदैन, उपनिर्वाचनबाट नै जनताले आफ्नो शक्ति देखाइदिनेछन्,’उनले भने ।

विपी कोइरालाले मन्त्रीमण्डल बनाउदा हिमाल, पहाड, तराईसँगै सबै जातजाति, महिला समेटेको उदहारण दिदै उनले कांग्रेसले नै समावेशिताको शुरुवात गरेको बताए । यस्तै, २००७ सालको क्रान्ति, २०४६ सालको प्रजातन्त्रिक आन्दोलन, माओवादीलाई शान्तिपुर्ण बाटोमा ल्याउने काम र संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको शर्माको भनाई थियो । ‘चुनाव पनि कांग्रेस नेतृत्वकै सरकारले गरायो, र संविधान कार्यान्वयनको दिशामा मुलुकलाई अघि डोर्यायो,’उनले भने ।

'राष्ट्रपतिले रामवरण यादवसँग ट्युशन पढ्न जानुपर्छ'

कांग्रेस प्रवक्ता शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि सभापति शेरबहादुर देउवाको बोलीप्रति सार्वजनिकरुपमा दिएको अभिव्यक्तिप्रति असन्तोष प्रकट गर्दै मर्यादित रहन अग्रह गरे । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाको भाषणपछि मन्तव्य दिने क्रममा राष्ट्रपति भण्डारीले आफुले नबुझेको भन्दै पछि मिडियाबाट थाह हुने भनेकी थिइन् । राष्ट्रपति भण्डारीको यो अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ता शर्माले पनि कडा शब्दमा भने,‘सितल निवासमा बस्नेले सितल बोल्नुपर्छ । सितल कसरी बोल्नुपर्छ भन्ने थाह नभए पुर्वराष्ट्रपति रामवरण यादवसँग ट्युशन पढ्न जानुपर्छ ।’

congress 6