धरान: आगामी मंसिर १४ गते धरानमा हुन लागेको मेयर पदको उपनिर्वाचनको लागि उम्मेदवार तय गर्न समाजवादी पार्टीले ३ जनाको नाम सिफारिश गरेको छ ।

मंगलबार धरान १७ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बूसहित ३ जनाको नाम सिफारिश गर्ने निर्णय गरेको हो । लिम्बूसँगै गजेन्द्र इस्बो र शुभचन्द्र राईको नाम पनि मेयर पदको उम्मेदवारको लागि सिफारिश गर्ने निर्णय गरेको पार्टीले जनाएको छ । कांग्रेसले धरानमा नेकपाबाहेकका दलहरुसँग गठबन्धन गर्न पहल गरिरहेको बेला समाजवादीले यस्तो निर्णय गरेको हो । यो निर्णयले कांग्रेसको गठबन्धनको प्रयासमा 'ब्रेक' लाग्नसक्ने अनुमान छ । समाजवादीका कार्यकर्ताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् । उनीहरुले पार्टी नेतृत्वलाई आफ्नै उम्मेदवार उठाउन दबाब दिइरहेका छन् ।

यद्यपी, समाजवादीका धरान अध्यक्ष ताजुब लिम्बूले को यो निर्णयले गठबन्धनको सम्भावनालाई नरोकेको प्रतिक्रिया दिए । केन्द्रीय तहबाट मात्र गठबन्धन गर्ने कि नगर्ने भन्ने टुंगो लाग्ने उनले बताए । स्थानीयस्तरमा गठबन्धनको प्रयास भएपनि केन्द्रीतस्तरमा कांग्रेसले पहल गरेको वा नगरेको औपचारिक जानकारी नभएको उनको भनाई छ । 'केन्द्रले जे भन्छ, त्यसमा निर्भर हुन्छ । भोली कांग्रेससँग गठबन्धन हुन्छ कि हुदैन, त्यसैले हामीले चुनावको आन्तरिक तयारीको लागि पनि यो निर्णय गरिएको हो,'उनले भने,'केन्द्रले गठबन्धन गर्ने निर्णय गर्यो भने त्यसलाई पनि स्वीकार गर्ने गरि यो निर्णय गरिएको हो ।'

सोही सचिवालय बैठकले गजेन्द्र इस्बोको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको समाजवादीले जनाएको छ । समितिमा सदर राई, शुभचन्द्र राई, पुष्यबहादुर राई, रामकुमार तुम्बा, बसन्त चेम्जोङ, नयन्द्र लिम्बू, रामकुमार राई, टिका सुब्बा, तेन्जिङ शेर्पा, चन्द्रमाया लिम्बू, कृष्ण लिम्बू, नयन राई, दावा शेर्पा, केशबिर राईलाई मनोनयन गरिएको छ। यसैगरि, युवा धरान नगर इन्चार्जमा रवि पाख्रिनलाई जिम्मा दिने र भ्रष्टाचारविरुद्ध अभियान थाल्ने निर्णय गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।