धरान: नेपाली कांग्रेसका पुर्वमहामन्त्री एवं प्रभावशाली नेता कृष्ण सिटौलाले वर्तमान सरकारले न्यायपालिका, संवैधानिक निकाय र प्रेसलाई आफु अनुकूल हिडाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।

कांग्रेस सुनसरीले मंगलबार धरानमा आयोजना गरेको दोस्रो जागरणसभाको सुनसरी जिल्लाव्यापी समापन तथा विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले नेकपाले राज्यलाई नै कब्जा गर्न खोजिरहेको आरोप लगाए । ‘हरेक निकायमा हस्तक्षेप गर्दैछ, स्वतन्त्ररुपमा चल्न नदिएर आफु अनुकुल पार्टीको कमिटि बनाउन खोजिदैछ,’सिटौलाले भने,‘संविधानको भावना, मर्मलाई बचाउने जिम्मा अब नेपाली कांगे्रसको छ ।’

उनले चिनिया नेता ल्याएर नेकपाले आयोजना गरेको प्रशिक्षणलाई गम्भीरतापुर्वक नियालिरहेको पनि बताए । विदेशी ल्याएर कुनै पार्टीले आफ्ना कार्यकर्तालाई तालिम दिएको पनि यो पहिलो घटना भएको प्रतिक्रिया दिए । ‘विदेशी ल्याएर तालिम दिदैछ, यो घटनालाई गम्भीरतापुर्वक लिएर हेर्दैछौं,’सिटौलाले भने,‘नेपालमा यस्तो पहिलो घटना हुदैछ । विदेशीलाई ल्याएर पार्टीमा प्रशिक्षण दिइदैछ ।’ सिटौलाले अहिले एमाले र माओवादी पार्टी नरहेको र उनीहरुको सिद्धान्त पनि प्रष्ट नभएको बताए ।