धनुषा : धनुषाको एक होटेलको फ्रीजमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहामा रहेको पूर्वेली स्टाफलाइन होटेलको फ्रीजमा करेन्ट लागेर मंगलबार राति तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । २ जनाको नाम भने खुल्न सकेको छैन ।

घटना मंगलबार राति नै भएको भए पनि बुधबार बिहान कोही पनि नउठेपछि स्थानीयले हेर्दा तीनै जना मृत फेला परेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटना स्थलमा पुगेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए । घटना पश्चात् स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।