धरान: तपाई रक्सी कतिको पिउनु हुन्छ ? सधै र धेरै नै पिउनुहुन्छ भने त कलेजो खराब हुने खतरा बढी हुन्छ । कहिले कही मात्र पिउनुहुन्छ भने पनि होसियार रहनुहोला । किनभने, रक्सी पिउदै गर्दा पिसाब थैली फुटेर पनि मृत्यु हुनसक्छ ।

पत्यार लागेन ? एक महिनाअघि एक २४ बर्षीय युवाको यसरी नै मृत्यु भएको थियो । रक्सी धेरै पिउने व्यक्तिले पानी धेरै पिउने हुनाले पिसाब धेरै लाग्छ । तर, ती युवालाई भने पिसाब लागेको थाहै भएन । जसको कारण पिसाब थैली फुटेर मृत्यु भयो । यो घटनाबारे केस स्टडी गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक एवं फरेन्सिक विभागका एडिस्नल प्रोफेसर डा.विकास साह भन्छन्,‘रक्सी पिउनेहरुले धेरै पानी पिएका हुन्छन् । त्यस अवस्थामा पिसाब धेरै लाग्नुपर्ने हो । तर, यो घटनामा ती व्यक्तिलाई पिसाब नै लागेन, र राती पिसाब थैली फुटेर मृत्यु भयो । यस्तो अनौठो घटना ज्यादै कम हुन्छ ।’

case-report

डा.साहका अनुसार धेरै बर्षदेखि रक्सी पिउनेको कलेजो ड्यामेज हुनसक्छ । ती युवाको उमेर त मात्र २४ बर्षको थियो । त्यसैले उनको कलेजो बिग्रने समस्या थिएन । ती युवा सधै रक्सी पिउने बानी भएको पनि थिएनन् । तर, दिउँसो धेरै मदिरा पिएका थिए । राती सुत्न जादा केही पेट दुखेको महसुस भए पनि उनले ख्याल गरेनन् । बिहान ४ बजेतिर तिर्खा लागेपछि पानी पाउने क्रममा उनी एक्कासी बेहोस भएका थिए । ‘उनको मृत्यु भएपछि पोष्टमार्टम गर्न यहाँ ल्याइएको थियो, उनको पिसाब थैली फुटेको रहेछ,’डा.साहले भने,‘रक्सी पिाउनेहरुले एकदमै सचेत हुनुपर्छ । यो खालको घटना पनि हुनसक्छ । पिसाबै नलागी थैली फुट्नसक्छ ।’

डा.साहका अनुसार पिसाब थैली फुटेको घण्टा वा दिनसम्म पनि थाह नहुनसक्छ । त्यसैले सकेसम्म रक्सी पिउन छोड्नुपर्ने उनको भनाई छ । पिउदा पनि सचेत हुनुपर्ने उनले बताए । ‘यो घटनाले रक्सी पिउनेहरुको मृत्यु यस किसिमले पनि हुनसक्छ भन्ने देखाउछ,’डा.साहले भने ।