धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दैनिक ज्यालादारी कर्मचारीहरुले नेपाल सरकारले तोकेको न्युनतम पारीश्रमिक पाउने भएका छन् ।

उनीहरुले सरकारले गत बर्षदेखि नै लागु भएको न्युनतम पारीश्रमिक ५१७ रुपैया पाउने भएका हुन् । आज प्रतिष्ठानका निमित्त उपकलपति प्रा.डा.गुरु खनालले आगामी कार्यकारिणी समितिबाट अनुमोदन गर्ने गरी दैनिक ज्यालादारी कर्मचारीहरुको हकमा यो निर्णय गरेका हुन् । ‘दैनिक ज्यालादारी कर्मचारीको हकमा नेपाल सरकारले श्रम ऐनअनुसार तोकेको दैनिक ज्याला ५१७ नै दिने निर्णय गरेको छुँ, आउदो कार्यकारिणी समितिबाट अनुमोदन गराउने गरी यो निर्णय भएको हो,’निमित्त उपकुलपति खनालले भने ।

नेपाल सरकारले गत आर्थिक बर्ष(२०७५ भदौ १)देखि लागु हुने गरी दैनिक ज्यालादारीको पारिश्रमिक ५१७ तोकेको थियो । तर, वीपीका कर्मचारीहरुले भने दैनिक ज्याला ३९५ मात्र पाउदै आएका थिए । दैनिक ज्यालादारी कर्मचारीसहित प्रतिष्ठानका कर्मचारी संगठनले पनि सरकारले तोकेको न्युनतम पारिश्रमिक लागु गर्न दबाब दिदै आएको थियो । हिजो बुधबार पनि निमित्त उपकुलपति र अस्पताल निर्देशकलाई छुट्टा छुट्टै भेट गरेर दैनिक ज्याला कर्मचारीहरुले दशैं अघि नै लागु गर्न माग गरेका थिए ।

karmachari1

निमित्त उपकुलपतिको यो निर्णयसँगै दैनिक ज्यालादारी कर्मचारीहरुले गत आर्थिक बर्षदेखि नै ५१७ रुपैयाको दरले पारिश्रमिक पाउनेछन् । कर्मचारीहरुले गत बर्ष ३९५ रुपैयाको दरले ज्याला लिएकोमा दैनिक हाजिरीको हिसाब गरेर बाँकी १२२ रुपैया बर्षभरिको पनि पाउने भएका छन् । यस्तै, विगतमा भएको सम्झौता वमोजिम २ बर्ष पुरा भएका कर्मचारीहरुलाई करारमा नियुक्ती गर्न पनि कर्मचारीहरुले माग गर्दै आएका छन् । यो मागबारे पनि विस्तारै सम्बोधन हुदै जाने निमित्त उपकुलपति डा.खनालले बताए ।