धरान: नेपालमा पोखरा र काभ्रेको धुलिखेलमा साहसिक पर्यटनअन्र्तगतको जिपलाइन सञ्चालनमा छ । साहसिक पर्यटन जिपलाइनको लागि यी दुई ठाउँ चर्चित छ ।

अब भने प्रदेश १ मा पनि साहसिक पर्यटनले गति लिने भएको छ । भेडेटारदेखि धनकुटातर्फ जिपलाइन सञ्चालनको तयारी हुदै गर्दा धरानमा पनि अर्को जिपलाइन चलाउने तयारी भएको छ । यसले नेपाल भ्रमण बर्ष २०२० को प्रर्वद्धनमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा लिइएको छ । यो दोस्रो जिपलाइन भेडेटारदेखि धरान ४ देवीथानसम्म चलाउने तयारी भइरहेको हो । यो जिपलाइन वल्र्ड वाइड एडभेञ्चर प्रालि र भेडेटारको आधा दर्जन व्यक्तिको संयुक्त लगानीमा चलाउने तयारी छ । यो जिपलाइनमा २ देखि अढाई करोड खर्च हुने अनुमान छ ।

zip-line

भेडेटारमा नै अर्काे पनि जिपलाइनको काम हुदैछ । त्यो भने टेकअफ र ल्याण्डिङ दुवै धनकुटातर्फ नै हुनेछ । यसको दुरी भने कम्तीमा १५ सय मिटरके लामो छ । दोस्रो जिपलाइनको टेकअफ भेडेटारमा हुनेछ भने ल्याण्डिङ धरानतर्फ देवीथानमा हुनेछ । यसको दुरी करिब ७ सय मिटर दुरीको हुनेछ । हाल आइइइ अध्ययनको काम भइरहेको लगानीकर्तामध्ये एक याम राईले बताए । ‘कागजी प्रक्रिया पुरा गर्ने क्रममा आइइ अध्ययन भइरहेको छ, त्यो रिपोर्ट दशैं पछि आउछ, र त्यसपछि काम शुरु हुन्छ,’उनले भने । यसअघि धरान १३ र २० को सिमाना सर्दु खोला किनारमा फ्लाइङ फक्सको परीक्षण सफल भएको थियो ।