काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला, वाग्मतीलगायतका नदीमा बहाव बढ्ने जनाएको छ ।

महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला र वाग्मती नदीमा बहाव उल्लेख्यरुपमा बढ्ने र यसका केही सहायक नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्ने पूर्वानुमान गरेको हो । उक्त नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाद्वारा शनिबार बिहान जारी बुलेटिनमा शनिबार र आइतबार बारा, पर्सा, मकवानपुर, सिन्धुली, उदयपुर, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र आसपास मध्यमदेखि भारी वर्षा भइ समग्र प्रदेश नम्बर–१ र २ का तराई र चुरेबाट बहने नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा रहने र सो स्थान भइ यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन सूचित गरेको छ ।

शनिबार र आइतबार प्रदेश नम्बर–१ र ३ का पहाडी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ । पहाडी भू–भागमा स–साना खहरेहरूमा बहाव बढ्नुका साथै पहिरोको सम्भावनासमेत रहेकाले पहिरोग्रस्त क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

pp-final2