इलाम : राष्ट्रसेवक कर्मचारीहरुलाई हौसला प्रदान गर्नका निम्ति गरिने एक मात्र प्रतियोगिता इन्टेग्रिटी आइकन नेपालको छैटौं संस्करणको उपाधि इलाम चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले प्राप्त गरेका छन ।

एकाउन्टबिलिटी ल्याब नेपालको आयोजनामा भएको अवार्डमा अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि हात हात पारेका हुन । अवार्डको शीर्ष पाँचमा राईसगै वन तथा वातावरण मन्त्रालय आयोजना सहजीकरण शाखा काठमाडौंका शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्र, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत ईश्वरी सुवेदी, भानुभक्त माध्यमिक विद्यालय तनहुँका शिक्षक प्रेमबहादुर दरै र जिल्ला अस्पताल मुगुकी सिनियर अनमी पुण्यप्रभा देवकोटा थिइन् । यस वर्ष पाँचै जनालाई उनीहरूको विशेष योगदानको कदर गर्दै छुट्टाछुट्टै उपाधिबाट सम्मान गरिएको छ ।

जसअनुसार, चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई ‘इन्टेग्रिटी विथ एक्सन अवार्ड’ बाट सम्मान गरिएको छ । यस्तै, सिनियर अनमी देवकोटालाई ‘इन्टेग्रिटी विथ कम्प्यासन अवार्ड’, शिक्षक दरैलाई ‘इन्टेग्रिटी विथ इन्स्पिरेसन अवार्ड’, खाद्य अनुसन्धान अधिकृत सुवेदीलाई ‘इन्टेग्रीटी विथ इनोभेसन अवार्ड’ र शाखा प्रमुख मिश्रलाई ‘इन्टेग्रिटी विथ करेज’ अवार्डबाट सम्मान प्रदान गरिएको छ । नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन २०१४ देखि ‘इन्टेग्रिटी आइडल’ को सुरु गरेको हो ।

‘इन्टेग्रिटी आइडल २०१९’ मा २०१८ डिसेम्बर ७ देखि २०१८ मार्च महिनाको अन्तिमसम्म मनोनयन खुला गरिएको थियो । जस अन्तर्गत ७१ जिल्लाबाट एक हजार १०० वटा मनोनयन प्राप्त भएको थियो । अनलाइन, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आह्वान गरिएको थियो । इन्टेग्रिटी आइकनले तय गरेको पूर्वनिर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न सात चरणको छनोट प्रक्रियापछि स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको छनोट गरेको हो । अन्तिम पाँचमध्ये एसएमएस र वेबसाइटबाट प्राप्त मतका आधारमा निर्णायक समितिको इन्टेग्रिटी आइकन नेपाल २०१९ को छनोट गरेको हो ।