काठमाडौं : यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ ।

बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि यही शुभसाइतमा घटस्थापना गरिँदैछ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ । बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि मकै, गहुँ र जौ रोपिन्छ ।
यसलाई जमरा राख्ने भनिन्छ । गँहु र जौको अंकुर दुर्गादेवीको प्रियवस्तु भएकाले यस दिन रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । यस दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो । यसरी स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ ।

टीका साइत

असोज २१ गते मङ्गलबार विजयादशमीका दिन बिहान ८:४५ बजे देवी विसर्जन गरेपछि १०:३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ । धेरैजसो शैक्षिक संस्थाले घटस्थापनाका दिनदेखि दशैँका अवसरमा बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने सार्वजनिक बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।