काठमाडौं: नेपाली कांग्रेसले पार्टी नेता मिनेन्द्र रिजाल लगायतमाथि भएको आक्रमण प्रयासको चर्को विरोध गरेको छ ।

कांग्रेसले विज्ञप्ती जारी गर्दै नेकपा कार्यकर्ताहरुले मण्डले शैली प्रर्दशन गरेको भन्दै त्यस्तो व्यवहार नरोके आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । आज तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जादै गरेका कांग्रेस नेता रिजाल, कांग्रेस तनहुँका कार्यवाहक सभापतिलगायतलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेका थिए । उनीहरुले रुख ढालेर बाटो अवरुद्ध पारेका थिए भने लाठी, ढुंगा, वियरका बोतलसहित बाटो छेकेका थिए ।

यो घटनाको विरोधमा कांग्रेसले विज्ञप्ती जारी गर्दै नेकपालाई आन्दोलनको चेतावनी दिएको हो । ‘फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ’ कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिन चाहन्छ ।’ सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको कांग्रेसले आरोप लगाएको छ । साथै, कांग्रेसले ‘मण्डलेशैली’ नरोके आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।