धरान: कांग्रेसको युवा भातृ संगठन तरुण दल धरान उपमहानगर कार्यसमितिले आगामी मंसिर १४ गतेको उपनिर्वाचनको लागि उम्मेदवार चयन प्रक्रिया चाडो शुरु गर्न मातृ पार्टीलाई आग्रह गरेको छ ।

तरुण दल धरानले कांग्रेसको धरान उपमहानगर कार्यसमिति, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिका सभापतिलाई अनुरोध पत्र बुझाउदै यस्तो माग गरेको हो । तरुण दल धरान अध्यक्ष हिमाल श्रेष्ठका अनुसार गएको स्थानीय तह निर्वाचनमा मात्र १२ दिन अघि उम्मेदवार चयन गरिनुले पनि चुनाव हार्नु परेको संगठनले निष्कर्ष निकालेको छ । त्यसैले यसपाली उपनिर्वाचनमा समयमा नै उम्मेदवार छनौट प्रक्रिया थालेर उम्मेदवार चयन गर्न पार्टीलाई आग्रह गरिएको उनले बताए । 'हामीले उम्मेदवारको चयन प्रक्रिया यथासिघ्र हुनुपर्छ भनेर पार्टीको तीनै कमिटिमा अनुरोध पत्र बुझाएका छौं,'अध्यक्ष श्रेष्ठले भने,'विगतको चुनावमा १२ दिन अघि मात्र उम्मेदवार चयन भयो, र कांग्रेस चुनाव हार्नुको एउटा कारण यो पनि हो भन्ने तरुण दलको निष्कर्ष हो ।'

tarun-dal1

तरुण दलले कांग्रेस जिल्ला सभापति तथा १ नम्ब प्रदेशसभा संसदीय दलका नेता राजिव कोइराला, क्षेत्रीय समापति सुरेशमान श्रेष्ठ र धरान उपमहानगर कमिटि सभापति तिलक राईलाई भेटेर अनुरोध पत्रमार्फत चाडै उम्मेदवार चयन गर्न आग्रह गरेको हो । तरुण दलले उम्मेदवार विवादरहितरुपमा पनि छान्न पनि आग्रह गरेको छ । उम्मेदवार चयन ढिलाई हुँदा धरानको सबै २० वटै वडामा उम्मेदवारलाई भोट माग्दै पुर्याउन नसकिने र उम्मेदवारले सबै मतदाताहरुमाझ आफ्नो प्रतिवद्धता पुर्याउन समय अभाव हुने तरुण दलको निष्कर्ष छ ।

'गएको चुनावमा १२ दिन मात्र समय हँुदा २० वटा वडामा उम्मेदवारलाई पुर्याउन सकेनौं, हाम्रो उम्मेदवारलाई चिनाउन सकेनौं,'तरुण दल धरानका अध्यक्ष श्रेष्ठले भने,'उम्मेदवारले आफ्नो प्रतिवद्धता जाहेर गर्न र भोट माग्न समय भएन, त्यसैले चुनाव हार्नुको एउटा कारण यो पनि भएकोले यसपाली चाडै उम्मेदवार चयन हुनुपर्छ भनेर अनुरोध गरिएको हो ।'

Tarun-dal2