काठमाडौं : जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।

एकैचोटि ठूलो संख्याका आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो । अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ । फाउन्डेसनले परीक्षामा सामेल हुन चाहनेका लागि अनलाइन दरखास्त आह्वान गरिएको जनाएको छ । रोजगारीका लागि जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय काम गर्न काठमाडौंस्थित जापानी राजदूतावासले जापान फाउन्डेसनलाई नियुक्त गरेको छ ।

पहिलो पटक नर्सिङ केयरका लागि मात्र जापान जान पाउने बताइएको छ । चिट्ठाबाट छानिएका आवेदकले दुई हजार पाँचसय रुपैयाँ बुझाएपछि भाषा परीक्षामा सहभागी हुन पाउनेछन् । –नागरिक दैनिकबाट