पाँचथर : आवद्यिक योजना निर्माणलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचथरको याङवरक गाउँपालिकाले घरधुरी तथ्यांकको आधारमा घर संख्या टाँस्न सुरु गरेको छ ।

वस्तुगत विवरण तयार पार्नका लागि प्रत्येक घरमा मोबाइल एप्समार्फत् संख्या राख्न थालिएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरले जानकारी दिए । पहिलो चरणमा पालिकाका २, ४ र ६ नम्बर वडामा घर संख्या राख्न थालिएको र बाँकी वडामा क्रमशः घर संख्या राख्दै जाने पालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले बताइन् ।

उक्त घर संख्याको आधारमा मोबाइल एप्समार्फत् उक्त घरको विस्तृत विवरण थाहा पाइने गाउँपालिकाले जनाएको छ । पारिवारिक विवरण, जग्गा–जमिनको स्वामित्व, आर्थिक स्थिति, पेसा, व्यवसाय, अपांगता, गर्भवती महिलालगायत सबै विवरण थाहा पाइने बताइएको छ ।

घरको सम्पूर्ण विवरण थाहा पाउने भएपछि पालिकालाई योजना निर्माणकाक्रममा रणनीति बनाउनसमेत सहयोग पुग्ने बताइएको छ ।