धरान: चियाको चुस्की लिनु अघि नै बिहानै धरानको छाताचोकस्थित मैनाली न्युज सेन्टरमा पुगेर पत्रपत्रिका हेर्नेहरुको लर्को लाग्छ । त्यहाँ उज्यालो भुँइमा खस्न नपाउदै देखि सेन्टरका सञ्चालक गोविन्द मैनाली आइसकेका हुन्छन् । उनीसँगै साइकल ब्वाईहरु पत्रिका मिलाउदै ग्राहकका घर घरमा पुर्याउन हत्तारिरहेका हुन्छन् ।

आजको बिहान भने सधैं झैं सामान्य भएन । बिहानैदेखि गोविन्द र श्रीमति शान्ता मैनालीलाई बधाईको ओइरो लागिरहेको छ । उनीहरु पनि मख्ख छन् । यसको खास कारण हिजो कान्तिपुर दैनिकको करोडपति सिजन ३ अन्र्तगत लक्की ड्रमार्फत मैनाली न्युज सेन्टरले महाबिक्रेताको पुरस्कार जित्यो । पत्रिका बिक्रेताहरुको लागि दिइने यो पुरस्कारमा डस्टन गो कार रहेको छ । 'एकदमै खुशी छौं, सोच्दै नसोचेको पुरस्कार जित्यौ,'गोविन्द मैनालीले मोवाइल सम्पर्कमा भने ।

mainalie1

सोमबार बधाई दिन र प्रतिक्रिया लिन छाताचोकस्थित सेन्टर पुग्दा गोविन्द धरान १४ विजयुरस्थित घर हिडिसकेका रहेछन् । पसलमा श्रीमति शान्ता मात्र थिइन् । खुशीले उनको अनुहार पनि उज्यालो भएको थियो । 'भाग्य चिट्ठा पर्छ भन्ने आशा नै थिएन, पहिला पनि हामीलाई नपरेकोले यसपाली त वास्ता पनि गरेनौं,' शान्ताले भनिन्,'हिजो एक्कासी विराटनगरको प्रमुखले फोन गरेर बधाई दिनु भएपछि अचम्मित भयौं, खुशी लाग्यो ।'

पुरानो परम्परागत घरको कोठामा उनीहरुले मात्र न्युज सेन्टर सञ्चालन गर्न थालेको ठ्याक्कै १६ बर्ष पुगिसकेको छ । उनीहरुले यहाँ आएर शुरु गर्नुअघि गोविन्दका भाईले ५ बर्ष जति यो पसल चलाएका थिए । गोविन्द र शान्ता धरान आउनुअघि विराटनगरमा दाजुसँग मिलेर यस्तै पसल सञ्चालन गरिरहेका थिए । अहिले पनि विराटनगरको हिमालय रोडमा भतिजोले पसल चलाउछन् ।

IMG_20190930_111230

मैनाली परिवारले कान्तिपुर प्रकाशित हुनुभन्दा अघिदेखि नै पत्रपत्रिका र पुस्तकहरु बिक्री गर्न थालेका हुन् । 'कान्तिपुर निस्कनुअघि देखि नै हामीले पत्रपत्रिका बेच्थ्यौं, ३० बर्ष जति भैसक्यो,'गोविन्द मैनालीले भने, 'कान्तिपुर निस्केदेखि बेचिरहेका छौं । यसपाली नसोचेको भाग्य चिट्ठा पर्यो ।' कार नै लिने कि के गर्ने भनेर सरसल्लाह भइरहेको पनि उनले बताए । कान्तिपुरले दशैं पछि काठमाण्डौं बोलाएकोले त्यतिबेला पारिवारिक सरसल्लाह गरेर निर्णय लिइने उनले बताए ।

IMG_20190930_111645