धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले आफ्नो नाममा १ कट्ठा ५ धुर(२५ धुर )जग्गा पाएको छ ।

गएको नगरसभामा घोषणा गरेअनुसार दाता दिलकुमारी राईले पार्टीको नाममा जग्गा राजिनामा पास गरिदिएकी हुन् । हिजो सोमबार मालपोत कार्यालय धरानमा गएर उनले धरान १७ स्थित जग्गा पार्टीको नाममा राजिनामा पास गरिदिएकी हुन् । दाता दिलकुमारी वडा नं १८ की निवार्चित वडा सदस्य पनि हुन् । यो जग्गा करिब ५० लाख मुल्य बराबरको हो । यसअघि उनले केचना मावि, इटहरीलाई पनि ८ कट्ठा ५ धुर जग्गा दान गरेकी थिइन् ।

कांग्रेस नगरसभापति तिलक राईले पार्टीको नाममा जग्गा प्राप्ती भएकोले अब पार्टी कार्यालय(भवन) बनाउन अभियान थाल्ने बताए । उनका अनुसार सकेसम्म १७ नम्बर वडाको जग्गा वडा नं १९ वा १० तिर सार्ने प्रयास हुनेछ । वडा १० वा १९ मा नभेटिए त्यही बनाउने सभापति राईले बताए । 'वडा १९ र १० तिर कार्यालय बनाउदा राम्रो होला भनेर पहल भइरहेको छ,आवश्यक जग्गा प्राप्ती भयो भने सट्टापट्टा वा बेचबिखन गरेर त्यता बनाउने योजना छ,'सभापति राईले भने,'नत्र भने वडा १७ मा नै बनाउछौं ।'

congress1

हालसम्म कांग्रेसको धरानमा पार्टीको नाममा जग्गा वा आफ्नै कार्यालय भवन थिएन । वडा १ मा भाडामा रहेको कार्यालय हाल वडा नं १८ स्थित बुद्धचोकमा सारिएको छ । नगर कमिटिको नाममा जग्गा भएको र भवन बनेपछि पार्टीको नगर र क्षेत्रीय कमिटि, दुवै कमिटिका भातृसंगठनहरुको कार्यालय त्यही स्थापना हुने सभापति राईले बताए ।

गएको नगरसभाले पार्टीको नाममा जग्गा प्राप्ती हुने निश्चित भएपछि भवन निर्माणको लागि सभापति राईको संयोजकत्वमा निर्माण समिति गठन गर्ने निर्णय भएको थियो । समितिले पुर्णता पाउन बाँकी छ । सोही सभामा पार्टी कार्यालय बनाउनको लागि वडा नं १८ का अध्यक्ष प्रविण राईले ५ लाख दिने घोषणा गरेका थिए भने वडा १ निवासी श्याम श्रेष्ठले ५० हजार दिने घोषणा गरेको सभापति राईले बताए । 'आवश्यक छलफल गरेर निर्माण समितिलाई पुर्णता दिन्छौं,'उनले भने ।