इटहरी: इटहरी प्रहरीले दिउँसै गुण्डागर्दी गर्दै खुकुरीले मान्छे काट्न लखेटीरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै खुकुरी प्रहार गर्न लाग्दा मंगलबार दिउँसो ४ जनालाई पक्राउ गरेको हो । झण्डै ६ जनाको समुहले इटहरी १० का सागर तामाङलाई लखेट्दै खुकुरी प्रहार गर्न लाग्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरी निरीक्षक रमेशकुमार बस्नेतका अनुसार अनिष सुवेदीलगायतको समुहले खुकुरी बोकर सागरलाई लखेट्दै गरेको बेला ४ जना पक्राउ परेका हुन् । ‘गुण्डागर्दी तरिकाले लखेट्दै गरेको सूचनाका आधारमा हामीले ४ जनालाई पक्राउ गरेका छौं,’ प्रहरी निरीक्षक बस्नेतले भने ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी ८ का २० बर्षीय अनिष सुवेदी, सोही ठाउँका १९ बर्षीय दोर्जे वाईबा, २० बर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेका छन् । उनीहरुको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य दुईजनाको खोजी भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरुबिरुद्ध सुरक्षा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत ११८ बमोजिम १० दिनको म्याद थप गरी अनुसन्धानमा राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । पक्राउ परेका अनिष यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परी ५० हजार धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।

धम्की दिदै पैसा उठाउने अविनाश पक्राउ

abinas

इटहरीमा धाक धम्की दिई पैसा उठाउने अबिनाश लिम्बुलाई पनि प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ का ३२ बर्षीय लिम्बुलाई धाक धम्की दिदैँ पैसा उठाएको आरोपमा पक्राउ गरेको हो । उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा १ लाख धरौटीमा छुटेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।