धरान: धरान १५ मिलन चोकमा निशा गिटी बालुवा ढुवानी सेवामा लोड अनलोड काम गर्नेहरुबीच भएको झगडा तथा कुटपिटमा संलग्न सबै पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार मंगलबार बिहान साढे २ बजे कालुङ राई र पुर्ण भुजेलले संचालन गरेको ढुवानी सेवामा झगडा भएको हो । प्रहरीका अनुसार लोडअनलोडको काम गर्ने तप्लेजुङ घर भई हाल धरान १५ मा बस्दै आएको २४ बर्षीय सन्तोष लिम्बु र उनका साथीहरु मादक पदार्थ सेवन गर्दा झगडा भएर कुटपिट भएको थियो । घटनामा सन्तोष गम्भीर घाइते भएका थिए ।

प्रहरीले घटनामा संलग्न नुवाकोट तार्केश्वर ६ का २५ शिव भुजेल, सोही ठाउँका १९ बर्षीय सुदिप भुजेल, सोही ठाउँका १९ बर्षीय आशिष भुजेल, ओखलढुङगा केतुके ७ का २४ बर्षीय पृथ्वीराज राई, उदयपुर त्रियुगा ५ का १९ बर्षीय विशाल भुजेल र सोही ठाउँका २२ बर्षीय बाबुराम थिङ पक्राउ परेका हुन् ।

पक्राउ परेका र घाइतेसमेत सेवाको टहरामा बसेर मादक पदार्थ सेवन गर्दै गरेको समय आपसमा वादविवाद र झगडा हुदा सन्तोष लिम्बुको टाउकोमा गम्भिर चोट लागेको प्रहरीको भनाई छ । उनको उपचारको लागी वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनको हाल विराटनगरको गोल्डेन अस्पतालमा उपचार भईरहेको र हाल सुधारउन्मुख रहेको प्रहरीले जनाएको छ ।