काठमाडौं: सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि यौन दुव्यर्वहार गरेको घटना सार्वजनिक भएपछि उनले पद गुमाउनु पर्यो । यो घटनाले जनयुद्ध लडेर आएका नेता महराको लामो राजनीतिक जीवन नै सिध्यायो ।

यो घटनाको पराकम्पन त्यतिमै रोकिएन । अहिले पुनः पीडित भनिएको कर्मचारी रोशनी शाही र उनका पति चित्रजंग शाहीको घरबार नै बिग्रिएको छ । यो घटना पछि दुवैले अलग बस्ने निर्णय गरेको लिखित सहमति पत्र रोशनीका पति चित्रजंग आफैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । औपचारिकरुपमा सम्बन्ध बिच्छेद हुन बाँकी रहे पनि उनीहरुले २८ बर्षको वैवाहिक जीवन अन्त्य गर्दै अलग बस्ने निर्णय भएको उनले फेसबुकमा लेखेका छन् । 

आज (बिहिबार) कै मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर गरेकोे पत्रमा भनिएको छ,, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते । समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’ रोशनीले महराले घरमा नै आएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । मिडियामा सार्वजनिक भएपछि महराले राजिनामा दिएका थिए भने रोशनीले भोलीपल्ट त्यस्तो नभएको भन्दै बोली फेरेकी थिइन् । तर, उनले बोली फेरे पनि महरा निर्दोष हुने कुनै प्रमाण थिएन ।

chitra