इटहरी : दसैँ नजिकिएसँगै इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । उपमहानगरले बुधबार र बिहीबार मासु पसल अनुगमन गर्दा मासु पसलमा अस्वस्थ मासु बेच्ने व्यापारीहरुलाई कारबाही भने गरेन ।

बजार अनुगमन समितिका संयोजक प्रकृति चौलागाईले इटहरीमा बजार अनुगमन गरिराखेको र इटहरीका अधिकांश मासु पसलेहरुले अस्वस्थ मासु बेच्ने गरेको बताए । ‘चार दिनसम्म हामीले लगातार बजार अनुगमन गयौं,’ चौलागाइँले भनिन्,‘यहाँका कुनै–कुनै ठाउँमा मासु सडे गलेको पाईयो ।’उनले इटहरीका अधिक ठाउँमा मासु सडेगलेको पाइएकाले सचेतना गराएको बताईन् । सचेतना मात्र हुन्छ कि कारबाही पनि भन्ने प्रश्नमा उनले भनिन्,‘हिजो हामीले सफाई गर्नु भनेर भन्दा आज फलोअपमा जाँदा सफाई भएको रहेछ, अब यसैलाई कारबाहीको रुपमा लिनुपर्छ ।’

उनले आफूहरुले सचेतना गराएको बताउँदै हरेक महिना बजार अनुगमन भएको तर्क गरिन् । उनका अनुसार इटहरीको बसपार्क जाने मोडका मासु पसलहरु, आईतबारे जाने मोडका मासु पसलहरुमा सडेको मासु पाईएको हो । अघिल्लो दिनको मासु फिज्रमा राखेर बेच्ने र सफा पनि नगरी मासु बेच्ने गरेको उनको भनाई रहेको थियो । ‘हामीले हरेक महिना बजार अनुगमन गरिराखेका छौं, अहिले दसैं भएर केही हदसम्म बढी अनुगमन गरेका हौँ,’उनले भनिन्, ‘यसअघि हामीले सुन पसल, होटल र किराना पसलमा अनुगमन गरेका थियौँ ।’ उनले सुन पसलमा अनगुमगन गर्दा अधिकांश सुन पसलहरु नवीकरण नभएको प्रतिक्रिया दिईन् ।

अनुगमन टोलीले इटहरीको हटियालाइनस्थित पशु बधशाला, संगीत चौक, बसपार्क जाने मोड, आइतबारे जाने बाटो लगायतका क्षेत्रमा अनुमगमन गरिएको थियो । यसअघि पनि पटक–पटक बजार अनुगमन गर्दा खाद्य पदार्थमा मिसावट गरेको, अस्वस्थ मासु बिक्री गरेको, अन्य पसलहरुमा बजार भाउ भन्दा बढी मूल्यमा सामान बेच्ने गरेको पाइएको भएपनि नियमनकारी निकाय मौन रहेको छ ।

अनुगमन टोलीले व्यापारीहरुले सामानमा मिसावट गरेको भएपनि सचेतना मात्र गराउँने गरेको र कारबाही भने गर्न सकेको छैन । व्यापारीहरुकहाँ अनुगमन गर्न जाँदा सुरुमै फोन सम्पर्क गरी जाने गरेको समेत पाइएको छ । र, सबै ठाउँ अनुमगन नगर्ने गरेको समेत पाईएको छ । त्यसो हुँदाव्यापारीहरुले म्याद गुज्रिएको सामान लुकाउने गरेका छन् । उपभोक्ता भने मारमा परिरहेको अवस्था रहेको छ । यस बिषयमा भने नियमनकारी निकाय मौन रहेको छ ।