धरान: धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरानको सेउती र सर्दु करिडोर निर्माणको लागि संघीय सरकारबाट १० करोड विनियोजना भएको बताएकी छिन् ।

वडा दशैं, तिहार र छठको अवसरमा बिहिबार उपमहानगरपालिका प्रांगणमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा उनले यो कुरा खुलाएकी हुन् । सर्दु र सेउती दुई खोलामा करिडोर निर्माण गर्न गरेको प्रस्ताव अनुसार सरकारले १० करोड विनियोजना गरेको खुलाइन् । ‘सेउती र सर्दु करिडोर निर्माण गर्न संघबाट ५–५ करोड बजेट विनियोजन भइसकेको छ, त्यसको पनि ठेक्का प्रक्रिया अघि बढेको छ,’उनले भनिन्,‘सेउती र सर्दु करिडोर वैकल्पिक मार्ग बन्नेछ ।’

कार्यवाहक मेयर भण्डारीले धरानको विवादित योजनाहरुको समस्या हल गरेर कार्यान्वयन तिर अघि बढेको बताइन् । ‘बसपार्कको द्धन्द समाधान गरेका छौ, र डिपिआर पनि बनिसकेको छ,’कार्यवाहक मेयरले भनिन्,‘ठेक्का प्रक्रिया प्रदेशबाट अघि बढेको छ, स्मार्ट बसपार्क बन्छ ।’ उनका अनुसार धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा अबको ३ बर्षभित्र बसपार्क निर्माण सम्पन्न हुनेछ ।

यस्तै, धरान ३ स्थित पालिका तरकारी बजारलाई व्यवस्थित बनाउन डिपिआर तयार भइसकेको पनि उनले खुलाइन् । व्यवस्थित पालिका बजारको लागि संघीय कृर्षि मन्त्रालय पेश भएको योजना अर्थ मन्त्रालयबाट पनि स्वीकृत भइसकेको कार्यवाहक मेयर भण्डारीले बताइन् । त्यो योजनाको पनि चाडै ठेक्का लाग्ने उनको भनाई छ ।

यस्तै, धरानबाट हर्दिया हुँदै कन्यापोखरी जोड्ने बाटो निर्माणको लागि प्रदेश सरकारले बहुबर्षिय योजनामा समावेश गरेको कार्यवाहक भण्डारीले जानकारी दिइन् । ‘प्रदेशबाट ३६ करोडको योजना बहुबर्षीयमा परेको छ, साविक धरानसँग लिंक रोड बनाएर साविक दुई गाविसलाई उपमहानगरपालिकाको अनूभुति दिलाउने काम हुनेछ,’उनले भनिन् । उपमहानगरपालिकाले यो आर्थिक बर्षमा धरानको मुख्य चोकहरुको ऐतिहासिकता र मौलिकता झल्काउन लगानी गर्ने पनि उनले बताइन् । ‘धरानको भानुचोक, फुस्रे, रेल्वे र विजयपुर चोकको इतिहास, मौलिकता झल्काउएर सौन्दर्यीकरण गर्ने काम गछौं,’उनले भनिन् ।

विष्णुपादुकामा १० अवतारको संरचना

प्रसिद्ध धार्मिकस्थल विष्णुपादुकाको भव्यता झल्काउन हिन्दु देवता विष्णुको १० अवतारसहितको मन्दिर संरचना बनाउने तयारी भएको पनि कार्यवाहक मेयर भण्डारीले बताइन् । यसको लागि चौधरी ग्रुपले डिपिआर बनाइदिने काम भइरहेको छ । ‘भर्खर मात्र डिपिआर टोली फर्केको छ, सिजि ग्रुप र बिशेष गरी विनोद चौधरीप्रति आभार व्यक्त गर्छु,’उनले भनिन् ।