काठमाडौं : भारतको मध्य प्रदेशस्थित रिवामा रहेको महात्मा गान्धीको अस्तु चोरी भएको छ । महात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेका बेला दुई दिनअघि अस्तु चोरी भएको त्यहाँको राज्य प्रहरीले पुष्टि गरेको छ । सन् १९४८ मा गान्धीको अस्तुको केही भाग रिवास्थित बापू भवनमा राखिएको थियो । गान्धीको अस्तु चोरी भएको ठाउँमा उहाँको तस्बिरमाथि पनि दुव्र्यवहार भएको अधिकारीहरुले जनाएका छन् ।

तस्बिरमा केरमेट गरेको र देशद्रोही लेखेको पाइएको बीबीसीले जनाएको छ। रिवास्थित बापू भवनको रेखदेख गरिरहेका मंगलदीपले घटना लज्जास्पद भएको बताएका छन् । उनले महात्मा गान्धीको जन्मजयन्ती भएकाले आफूले विहानै भवनको ढोका खोलेर छोडेको र पछि गान्धीको अस्तु हराएको तथा तस्बिरमा दुरव्यवहार भएको थाहा पाएको बताए । गान्धीले भारतबाट व्रिटिश शासन अन्त्य गर्न अहिंसात्मक आन्दोलनमार्फत् नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । तर भारतमा एक समूहले गान्धीलाई हिन्दु विरोधीका रुपमा प्रचार गर्दै आएको छ । उहाँको सन् १९४८ जनवरी ३० मा नाथुराम गोड्सेले हत्या गरेका थिए ।