धरान: नेपालीहरुको महान् चाड दशैं मनाउन घर फर्कनेहरुको ताती छ । साथीभाई, परिवारसँग दशैं रमाइलो गरी मनाउन घर फर्किएकाहरुको धरानमा भने विजोग छ ।

कोशी पहाडी रुटमा चल्ने पर्याप्त गाडी नपाउदा दशैंमा घर फर्कनेहरुको धरानमा विजोग अवस्था भएको हो । दशैंमा घर फर्कने यात्रुहरुको चाप अनुसार सार्वजनिक बसको व्यवस्थापन नहुदा यस्तो अवस्था भएको हो । त्यसमाथि यसपाली दशैंमा पनि निरन्तर बर्षा भएर पहाडी क्षेत्रको बाटो हिलाम्य भएको र गाडी फसेर समयमा नै आउन नसक्दा यो अवस्था भएको हो ।

तेह्रथुमको म्याङलुङ जान इटहरीबाट शुक्रबार बिहान ६ बजे धरानको भानुचोकमा आइपुगेका मनराज लिम्बू १० बजेसम्म पनि गाडी नपाएर छटपटिरहेका थिए । भानुचोकमा गाडी कतिबेला आउछ भनेर ब्यग्र प्रतिक्षामा बस्ने उनी एक्ला भने थिएनन् । सयौं सर्वसाधारणहरु मनराजको जस्तै विचल्ली अवस्था थियो । सरकारले दशैंमा यात्रुको चापलाई हेरेर व्यवस्थापन गर्न ध्यान नदिएको उनको गुनासो छ ।

dasai-yatru

पहाडी रुटमा काठमाण्डौंलगायत अन्य शहरबाट चल्ने गाडीको संख्या एकदमै नगन्य छ । अधिकांश गाडीहरु धरानसम्म आउछ, र यहाँबाट यात्रुले गाडी परिवर्तन गरेर पहाडी जिल्ला जानुपर्ने बाध्यता छ । यातायात मजदुरहरुका अनुसार कोशी पहाडी रुटमा धरानबाट ८७ वटा गाडी चल्छन् । अघिल्लो दिन पहाडी जिल्ला गएका गाडीहरु पानी परेर समयमा नै फर्कन नसक्दा यात्रुहरुको विचल्ली भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले बताए । साथै उनले यात्रुहरुको सहजताको लागि यातायात व्यवसायीहरुसँग समन्वय गरेर गाडी थप गर्नेबारेमा पहल भइरहेको छ । उनका अनुसार संगठनले यात्रुहरुलाई सहजीकरण गर्न यात्रु सहायता कक्ष पनि चलाएको छ । 'हिजो गएका गाडीहरु आउन थालेपछि केही सहज भएको छ,'उनले भने ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं इन्स्पेक्टर अञ्जन कोइरालाले पनि यातायात व्यवसायीहरुसँग थप गाडी उपलब्ध गराउन आग्रह गरिएको बताए । काठमाण्डौंलगायत बाहिरका गाडीहरु धरानसम्म मात्र चल्ने र यहाँ यात्रुहरु विचल्ली हुने गरेको उनले बताए । ‘गाडीको संख्या थप्न भनेका छौं, आज भोली र पर्सिसम्म यात्रुको चाप हुन्छ । व्यवस्थापन गर्नुपर्छ,’ प्रहरी निरीक्षक कोइरालाले भने ।