धरान: नेपालीहरुले दशैंको अष्टमीको दिन घरमा खसी बोका मार हान्ने चलन छ । त्यसैको लागि दशैं नजिकिए पछि बजारबाट खसीबोका किन्ने गर्छन् ।

दशैंको अष्टमीको अघिल्लो शुक्रबार धरान १३ स्थित कृषि उपज बजारस्थलमा लाग्ने पशु बजारमा बर्षेनी ठुलो संख्यामा खसीबोकाको कारोबार हुन्छ । आज शुक्रबार पनि धरानको पशु बजारमा ठुलो संख्यामा खसीबोकाको कारोबार भएको छ । कृषि उपज बजारका अनुसार शुक्रबार एकै दिन १२ सय थान खसीबोका बिक्री भएको छ । यसको कुल मुल्य १ करोड ५० लाख बराबार भएको व्यवस्थापक लक्ष्मण भटराईले जानकारी दिए । ‘दशैंको अघिल्लो साताको शुक्रबार ठुलो कारोबार हुन्छ, आज डेढ करोड बराबर कारोबार भयो,’उनले भने ।

khasi-boka1

धरानमा हरेक शुक्रबार पशुहाट लाग्ने गर्छ । यहाँ सुनसरी जिल्लाको ग्रामिण भेगबाट किसानहरुले खसीबोका बिक्री गर्न ल्याउछन् भने कोशी पहाडी जिल्लाबाट पनि खसीबोका बिक्री गर्न ल्याउने गरेका छन् । यसपाली धरानबाट खसीबोकाहरु काठमाण्डौं निर्यात हुन थालेकोले पनि धेरै कारोबार भएको कृषि बजार उपजस्थलले जानकारी दिएको छ । बजारका अनुसार गत बर्षको तुलनामा दशैंमा खसीबोका ५० प्रतिशत बढी कारोबार भएको छ ।

गत बर्ष साढे २८ करोडको कारोबार

khasi-boka3

गत आर्थिक बर्ष २०७५/०७६ मा ३० हजार ४ सय वटा खसीबोका बिक्री भएको बजारस्थलले जनाएको छ । यसको मुल्य कुल २८ करोड ५० लाखको कारोबारको हो । यो बर्षको असोज दोस्रो सातासम्म १ सय ७० मेट्रिक टन बिक्री भएको व्यवस्थापक भटराईले जानकारी दिए । यसको मुल्य ८ करोड ५० लाख बराबार हो । गत आर्थिक बर्षमा यो समयमा १ सय ४१ मेट्रिक टन बिक्री भएको थियो । जसको मुल्यमा ७ करोड २० लाख हुन्छ ।