धरान: होटलका कर्मचारी र प्रहरीमाथि पनि अभद्र व्यवहार गरेको आरोपमा श्री सुब्बा पुनः पक्राउ परेका छन् ।

धरान १५ बगरकोटस्थित भिन्टेज लाउञ्ज एण्ड बारबाट प्रहरीले सुब्बालाई शुक्रबार राती पक्राउ गरेको हो । सुब्बासँगै धरान ८ का टाइसन लिम्बु, धरान १७ का मिलन राई र धरान २ का राकेश दर्नाल पनि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार राती साढे ११ बजेसम्म पनि बारबाट निस्कन नमानेका सुब्बाले बारका बाउन्सर, सेक्युरिटी गार्डलगायतलाई उल्टै धम्क्याएका थिए । त्यसपछि, घटनास्थलमा पुगेका प्रहरीमाथि पनि उनले अभद्र व्यवहार गरेका थिए । ‘सेक्युरिटी गार्ड, बाउन्सर सबैलाई धम्क्याएर होटल बन्द गर्नै नदिएको रहेछ, प्रहरी पुगेर घर जान भन्दा उल्टै जादिन भनेर अभद्र व्यवहार भयो,’डिएसपी ढुण्डीराज न्यौपानेले भने,‘प्रहरीमाथि पनि अभद्र व्यवहार भएपछि पक्राउ गरिएको छ ।’

प्रहरी प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै राती ११ बजे पछि बगरकोटका होटलहरु पुर्णरुपमा बन्द गर्ने समयसिमा तोकेको छ । दशैंतिहार जस्ता चाडपर्वमा झनै सुरक्षा चुनौती छ । त्यसैले प्रहरीले संवेदनशील क्षेत्रहरुको सुरक्षा निगरानी बढाएको छ । डिएसपी न्यौपानेले पक्राउ परेका सुब्बालाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको जानकारी दिए ।

पक्राउ परेका सुब्बा पटक पटक प्रहरी नियन्त्रणमा पुगिसकेका व्यक्ति हुन् । राजनीतिक संरक्षणको आडमा धम्क्याउने, असामाजिक कार्यमा संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । उनी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा आवद्ध छन् । पार्टीको उनी युवा संगठनको नेता हुन् ।

यसअघि उनी २०६० सालमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर ६ बर्ष जेल सजाय भुक्तान गरेर निस्केका थिए । यस्तै, पछिल्लो समय ०७५ भदौ २२ गते अभद्र व्यवहार मुद्दामा १० हजार धरौटीमा छुटेका थिए भने ०७५ फागुन १९ मा पनि सवारी अंगभंग मुद्दामा पक्राउ परेर १ लाख धरौटीमा छुटेका थिए । उक्त घटनामा उनले बगरकोटमा नै मापसे सेवन गरेर कार चलाउदा मोटरसाइकलाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका थिए ।