काठमाण्डौं: प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ ।

संसद् सचिवालयमा कार्यरत नर्स रोशनी शाहीले महराविरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् । उजुरीसँगै यो प्रकरणले नयाँ मोड लिएको छ । प्रहरी स्रोतका अनुसार आज शनिबार पीडित रोशनी स्वयम महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएकी थिइन् । उनको जाहेरी दर्ता भइसकेकोछ । घटनाबारे आइतबारदेखि कानुनी प्रक्रिया शुरु हुने प्रहरीको भनाई छ । महरा पक्राउ पर्नसक्छः प्रहरी स्रोतले भन्यो । यद्यपी, प्रहरीले औपचारिकरुपमा भने यो बिषयमा केही बताएको छैन ।

गएको आइतबार शाहीले आफ्नै घरमा आएर जर्बजस्ती रक्सी खुवाएको र बलात्कार गरेको आरोप लगाए पछि महराले सभामुख पदबाट राजिनामा दिइसकेका छन् । उनलाई सांसद पदबाट पनि राजिनामा दिन चौतर्फी दबाब छ । सभामुखको राजिनामा स्वीकृत भइसकेको छ भने उनको सांसद पद गुमेको छैन ।

घटना सार्वजनिक भएको भोलीपल्ट रोशनीले आफुले आवेगमा आएर आरोप लगाएको र महरा आफ्नो बाबु समान भएको प्रतिक्रिया दिएकी थिइन् । उनले महरालाई जोगाउने अभिव्यक्ति दिए पनि महरा निर्दोष भएको पुष्टि कतैबाट हुन नसकेपछि अन्ततः पार्टीले नै राजिनामा दिन निर्देशन दिएको थियो । यो घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान टोली गठन गरिसकेको छ ।