काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैंका रुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउँदै छन् ।

बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गाभवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो । सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो’–उनले भने ।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए । दुर्गा सप्तशती चन्डीको आठौं अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा. गौतमले बताए ।

‘राज्य सन्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’–उनले भने ।

यी तीनओटा शक्ति दुर्गाभवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो । आजैका दिन राति कालरात्रिकारुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ ।

कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुन्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।